काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् ।
केही दिनदेखी परेको अविरल वर्षाका कारण गएको पहिरोको जोखिममा परेका घरका बासिन्दा त्यहाँबाट विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । गएरातिको वर्षासँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर सानु तामाङले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा परेको र सिङ्गटी बजारका घर र पसलहरुमा लेदो माटो छिरेको छ । बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन् ।
पहिरोले बजार क्षेत्रको बाटो अवरुद्ध भएपछि पहिरो पन्छाएर खुलाउने काम भइरहेको इन्सपेक्टर तामाङले बताए ।