Logo
Logo

परराष्ट्रमन्त्रीको भ्रमणले नेपालप्रति चिनियाँ ‘संशय’ कम होला ?


819
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको भ्रमणले छिमेकी मुलुक चीनको नेपालप्रतिको संशय कम हुने कुटनैतिक जानकारहरुको ठम्याइछ । तीन दिने भ्रमणका लागि मंगलबार परराष्ट्रमन्त्री खड्कासिहतकाे टाेली चीन गएका छन् ।

मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) जस्ता अमेरिकासँग जोडिएका विषयका कारण नेपालप्रति चिनियाँ संशय बढेको हुनसक्ने भन्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणले कम गर्न सक्ने नेपाल-चीन सम्बन्धमा चासो राख्ने कूटनीति क्षेत्रका जानकारहरूले बताएका छन्।

यद्यपि त्यसबारे निश्चित हुन चीन-नेपाल सम्बन्धमा आगामी दिनमा देखिने उतारचढावलाई हेर्नुपर्ने उनीहरूको भनाइ छ। परराष्ट्रमन्त्रीको चीन भ्रमणलाई नेपालको आसन्न निर्वाचनसँग पनि जोडेर हेर्नुपर्ने धारणा पनि आएको छ।

चीनका लागि भूतपूर्व नेपाली राजदूत डा. महेश मास्के परराष्ट्रमन्त्रीको अहिलेको भ्रमणलाई नेपाल र चीनबीच बढ्दो संशय मेट्ने एउटा उपयुक्त कदम ठान्न सकिने बताएका छन्। उनले भने, ‘एमसीसी र एसपीपीले चीनमा संशय बढेको हो। त्यो मात्र नभएर बीआरआई पनि उपेक्षित हुन लागेको जस्तो अवस्थामा यो भ्रमण कोर्स करेक्शन हो। यसले चीनलाई आश्वस्त गर्न सक्छ।’

चीनमै अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका परराष्ट्र मामिलाका जानकार रूपक सापकोटाले यो भ्रमणले नेपालप्रति पछिल्ला दिनहरूमा बढेको भनिएको चीनको शङ्कालाई हटाउने काम गर्ने बताए। उनका अनुसार नयाँ सरकार बनेदेखि नेपालबाट उच्चस्तरीय भ्रमण हुन नसकिरहेका बेला भएको यो भ्रमणको महत्त्व व्यापक रहेको छ।

सरकारले भने परारष्ट्रमन्त्री नारायण खड्काको भ्रमणका क्रममा चिनियाँ समकक्षीसँग ‘द्विपक्षीय हित र सहकार्यबारे कुराकानी भएको’ जनाएको छ। परराष्ट्र मन्त्रालयले बुधवार साँझ ट्विटरमार्फत् सार्वजनिक गरेको विवरणअनुसार परराष्ट्रमन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीसँग भेटवार्ता गरेर आपसी हितबारे कुराकानी गरेका छन्।

उनले चिनियाँ समयअनुसार बुधवार साँझ आफ्ना समकक्षी वाङ यीसँग चिङ्दाओ सहरमा भेटवार्ता गरेका हुन्। बुधवार साँझ अबेर बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी प्रेस वक्तव्यमा परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्धको कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने आश्वासन दिएको मन्त्रालयद्वारा जारी ट्वीटमा उल्लेख छ।

चिनियाँ मन्त्री वाङ यीले पनि नेपालको ‘सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निसर्त समर्थन दोहोर्‍याएको र नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएको’ दूतावासले जनाएको छ।

उक्त वक्तव्यमा उल्लेख भएको विवरणअनुसार द्विपक्षीय वार्तामा चीनले नेपालको विकास निर्माणमा सहयोगको प्रतिबद्धता पनि जनाएको छ। दुवै पक्षले पहिले भएका सम्झौताहरूलाई चाँडै कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका छन्।

चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौं चक्रपथ विस्तारको दोस्रो चरणको काम चाँडै सुरु गर्ने आश्वासन दिएको त्यसमा जनाइएको छ। उनले गत मार्चमा आफ्नो नेपाल भ्रमणका क्रममा प्रतिबद्धता जनाइएको नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिएको वक्तव्यमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्