Logo
Logo

प्रकाशशरण महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण


315
Shares

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् ।

यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं १ का कतिपय स्थानमा क्षति पु¥याएको छ । नुवाकोटको दुप्चेश्वर–३ राउतबेंसी, तादी– ४ सातबिसे र पञ्चकन्या– ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या– २ आप्र र तादी– ५ बाहुनबेंसी जोड्ने पक्की पुल, पञ्चकन्या– १ को सिमारा फाँट र लिखु– ३ सूर्यमति र १ ढिकुरे जोड्ने पक्की पुल बाढीका कारण क्षतिग्रस्त भएका छन् ।

पञ्चकन्या र तादी जोड्ने पुलको क्षति अवलोकन गरेपछि प्रवक्ता डा. महतले सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन पुनः सञ्चालनमा ल्याउन र बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन सरकारसँग माग गरे ।

आफ्नो गृह जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुग्नुभएका पूर्वमन्त्री डा. महतले बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको अनुगमनपछि आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेका बेलामा बाढी पहिरो प्रभावितसँग प्रत्यक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनस्थापना तथा पुनर्निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा. महत पुगेका थिए ।

उनले पहिरोबाट अधिक प्रभावित राउतबेँसीको निरीक्षण भ्रमणपछि प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाको पुनर्निर्माणका लागि शीघ्र कदम चाल्न सरकारसँग माग गरे ।

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकसँगको भेटपछि डा. महतले स्थानीय जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र पुनर्निर्माणको बारमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्