Logo
Logo

मोतीबिन्दुको उपचार निःशुल्क गरिने


567
Shares

काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ ।

नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ । निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा आवश्यकताअनुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ ।

नगरप्रमुख भण्डारीले सम्झौताले स्थानीयको सो रोगको गुणस्तरीय उपचार पाउनेमा विश्वस्त रहेको बताए । उनले भने “अब नगरवासीले सो रोगको निःशुल्क सहज परीक्षण र उपचार पाउनुहुनेछ ।”

अस्पतालको सहयोगमा गत वर्ष पनौतीका ९० जनाको सो रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । नगरसँगको सम्झौताले सो रोग न्यूनीकरण अभियानमा थप हौसला मिलेको अस्पतालले जनाएको छ ।

अस्पतालले यसअघि आँखामा लाग्ने मोतीबिन्दु रोगीको निःशुल्क उपचार गर्न काभ्रेपलाञ्चोकको बनेपा नपा, नमोबुद्ध नपा र बेथानचोक गाउँपालिकासँग सम्झौता गरिसकेको छ । यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, धनुषाको मिथिला नपा, छिरेश्वर नपा र कमला नपासँग पनि अस्पतालले सम्झौता गरेको जनाइएको छ ।

अस्पतालकै सहयोगमा दुई साताअघि पनौती(५ मा आँखा शिविरको आयोजना गरी चारसयको आँखा परीक्षण गरेमध्ये सो रोग लागेको देखिएका करिब एक दर्जन वृद्ध वृद्धाको निःशुल्क शल्यक्रिया गरिएको थियो । वडा कार्यालयले ती वृद्ध वृद्धाको बनेपास्थित उक्त अस्पतालमा उपचारार्थ आवतजावतका लागि यातायात व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्