Logo
Logo

‘ओली रहँदासम्म कम्युनिष्ट आन्दोलन एकतावद्ध हुँदैन’


मेटमणि चौधरी, सांसद, एकीकृत समाजवादी

13.8k
Shares

गत पुस १० गते बनेको सातदलीय गठबन्धन दुई महिनामै भत्किएको छ । गठबन्धन ‘डिजाइनर’ नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेपछि गठबन्धन औपचारिक रुपमा भत्किएको हो ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा निर्माण भएको आठदलीय गठबन्धनले नयाँ सत्तासमिकरणको जग खडा गरेको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् ।

एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन् । नेम्वाङका प्रस्तावक र समर्थन एमालेबाहेक अरु दल छैनन् । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन, आठदलीय गठबन्धन, नयाँ गठबन्धनको प्राथमिकता लगायतका विषयमा नेकपा (एकीकृत समाजवादीका सांसद तथा पोलिटब्यूरो सदस्य मेटमणि चौधरीसँगको संवाद प्रस्तुत छ–

निर्वाचनपछि गठबन्धनमा त्रीब्र फेरबदल आयो, अहिले आठदलीय गठबन्धनको आवश्यकता किन पर्याे ?
स्थिरता, सुशासन र समृद्धिको प्रतिवद्धतासहित हामी पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा गएका थियौँ । पाँचदलीय गठबन्धनलाई सरकार बनाउने जनादेश पनि प्राप्त भयो । तर, निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको केही असमझदारीका कारण बीचमा समस्या आयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बन्ने अवस्था आयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमै प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेको भए पुरानो पाँचदलीय गठबन्धन भत्किने अवस्था आउँदैनथ्यो । एमाले अध्यक्ष केपी शर्मा ओली जसरी पनि पाँचदलीय गठबन्धन भत्काउन चाहन्थे । प्रचण्डलाई प्रयोग गरेर उनले गठबन्धन भत्काए । ओली सभामुख र राष्ट्रपति आफुले भनेको व्यक्तिलाई बनाएर सत्ता कब्जा गर्न चाहन्थे । त्यसैले केही समयका लागि उनले प्रचण्डलाई प्रधानमन्त्री स्वीकारे । तर, ओली राष्ट्रपति निर्वाचनपछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफु प्रधानमन्त्री बन्ने सोचमा थिए । त्यतिबेलासम्म अनेक षडयन्त्र गरेर ठूलो दलको नेता बन्ने प्रयास ओलीको थियो ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष सबै आफैँसँग राखेर ओलीले विगतको असंवैधानिक संसद विघटन जायज थियो भनेर देखाउन चाहन्थे । त्यसलाई लागि ओलीलाई यस पटक पनि संसद भंग गर्नु थियो । ओलीले जुन उद्देश्यका साथ हिजो संसद विघटन गरेका थिए, आज पनि उनमा त्यही सोच थियो । त्यो स्थितिमा समावेशी लोकतन्त्र, गणतन्त्र सबै खतरामा पर्ने थियो । त्यसकारण संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आठ दलीय गठबन्धन बनाएका हौँ ।

दुई महिना नपुग्दै सातदलीय गठबन्धन भत्कियो, अहिले आठदलीय गठबन्धन बनेको छ । यसले अस्थिरता निम्त्याउँदैन ?
यसमा हामीलाई पनि दुःख लागेको छ । पाँचै वर्ष यो गठबन्धन टिकोस् भन्ने नै थियो । तर, ओलीको कार्यशैली ठिक नभएका कारण गठबन्धन टिक्न सकेन । ‘प्रचण्ड छायाँ मात्रै हो, प्रधानमन्त्री त मै हुँ’ भन्ने सन्देश ओलीले दिन खोजेका थिए । ओलीले यो दुई महिनाको बीचमा सम्पूर्ण राज्यसत्ता आफैँ चलाउन खोजे । त्यसकारण प्रचण्ड झस्किएका हुन् । जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि त्यही कारण ओलीसँग रुष्ट बनेर नयाँ गठबन्धनमा आएका हुन् । यसको मूल कारक ओली नै हुन् । ओलीले आफ्नो कार्यशैली सुधारेनन् । ढाँट र छलको कुरा मात्रै गरिरहे । त्यही कारण पनि सातदलीय गठबन्धन दुई महिनामै भत्किन पुग्यो । र, अहिले आठदलीय गठबन्धन बनेको छ ।

अब यो आठदलीय गठबन्धन कहिलेसम्म जान्छ त ?
मुलुकमा अस्थिरता निम्तियो भन्ने भएको छ । त्यसतर्फ हामी सचेत रहन्छौँ । विगतको घटनाक्रमबाट पाठ सिकेर हामी अगाडि बढ्छौँ । आठदलीय गठबन्धन पाँचै वर्षसम्म चल्छ । आठ वटै राजनीतिक दल सरकारमा सहभागी हुन्छन । आठदलीय गठबन्धनबाट पाँचै वर्ष प्रदेश सरकार पनि टिकाउने तयारी छ ।

प्रधानमन्त्री आलोपालोको सहमति चाहिँ के हो ?
तीन पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साढे २ वर्ष सरकार चलाउने, त्यसपछि एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।

संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रचण्डको नेतृत्वमा सरकार छ । यो सरकार हटेपछि उपधारा (३) अनुसार ठूलो दलको नेताको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्छन । यस्तो अवस्थमा माधवकुमार नेपालको पालो कसरी आउँछ भन्ने पनि छन् नि ?
अहिले प्रचण्ड नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा (२)अनुसारको हो । प्रचण्ड सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको भए उपधारा (३) अनुसार सरकार बन्थ्यो । उपधारा (२) अनुसार गठित प्रचण्ड सरकार विश्वासको मत नपाएर ढलेको हुँदैन । हामीले माधवकुमार नेपाललाई उपधारा (२) अनुसार नै प्रधानमन्त्री बनाउने हो । उपधारा (३) मा जाँदा यो सरकारले विश्वासको मत पाउन नसकेर ढलेको हुनुपर्छ । त्यो स्थिति आउँदैन । त्यस्तो अवस्थामा उपधारा (३) मा जानु पर्दैन । त्यसकारण प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुन्छ ।

एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव राख्दा पनि किन स्वीकार गर्नुभएन ?
यो कुरा लेखेर राख्नुस, ओली एमालेमा प्रभावशाली रहँदासम्म नेपालको कम्युनिष्ट आन्दोलन एकतावद्ध हुँदैन । ओलीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने गरी काम गर्दैनन् । विगतमा नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदा ओलीले जसरी एकै दिन ६ जनालाई प्रधानमन्त्री बनाउथे, त्यसैगरी अहिले राष्ट्रपतिमा पनि अस्त्र प्रहार गरेका हुन् । ओलीले राष्ट्रपति बन्ने स्थितिमा डोरमणि पौडेललाई अघि सार्ने थिए । तर, राष्ट्रपति नहुने निश्चित भएपछि ओलीले सुवास नेम्वाङलाई अघि सारेका छन् । ओलीले नेपाललाई समिकरण भत्काउने उद्देश्यले मात्रै राष्ट्रपति दिने हल्ला चलाएका हुन् । कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउने उद्देश्य भएको भए ओलीले संस्थागत निर्णय गर्ने थिए । यसभन्दा अघि पनि कुरा चल्ने थिए । ओलीले संकट परेपछि नेपालको साथ खोजेका हुन् । ओली अरु बेला त राप्रपासँग घाँटी जोडेर हिडेको देख्नुभएकै छ ।

ओलीले खास चाहेका के थिए ?
ओलीका दूतहरू म कहाँ पनि आएका थिए । कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहेको भए बैठकबाट निर्णय गरेर ल्याउ भन्दा उनीहरूले गरेनन् । जनतालाई भ्रम छर्नका लागि मात्रै ओलीले राष्ट्रपतिको हल्ला चलाएका हुन् । त्यस्ता हल्लाको पछाडि लाग्नुको अर्थ रहँदैन । हामीले एकता चाहेका थियौँ, माधवकुमार नेपालले मानेनन् भन्ने भ्रम छर्न ओली कार्ड फ्याँकेका हुन् । ओलीको दोस्रो उद्देश्य नेपाललाई राष्ट्रपति चाहिएको थियो, त्यसकारण पार्टी विभाजन गराएका थिए भन्ने पार्नु थियो । तेस्रो, स्थायी प्रकृतिको जुन आठदलीय समिकरण बन्दै थियो, त्यसलाई भत्काउन पनि ओलीले कार्ड फ्याँकेका हुन् । ओलीका यी षडयन्त्र हामीले नबुझ्ने कुरै भएन ।

राष्ट्रपति निर्वाचनमा एमाले जातीय भोट तान्ने रणनीतिमा देखिन्छ । भोट क्रस हुने सम्भावना कति छ ?
राष्ट्रपति निर्वाचनमा त्यस्तो सम्भावनै छैन । वडाध्यक्ष, वडा सदस्यको निर्वाचन हो र इष्टमित्र हेर्न ? जातीय, भेगीय विषयले प्रभाव पार्न ? एमालेले बेलाबेला फण्डा गर्छ । अहिले पनि फण्डा गरिरहेको छ । हार्ने उम्मेदवारलाई कसैले भोट दिएर खेर फाल्छ ? बरु, आठदलीय गठबन्धन भएका कारण एमालेको केही भोट चाहिँ जित्ने उम्मेदवार रामचन्द्र पौडेललाई आउँछ । फेरि, सुवास नेम्वाङ को हो भन्ने पनि त सबैलाई थाहै छ । संविधानको ड्राफ्ट आफैले बनाएको, आफ्नै अध्यक्षतामा जारी भएको संविधान मिच्दासमेत चुइक्क बोल्न नसक्ने सुवास नेम्वाङले कसरी संविधानको संरक्षण गर्न सक्छन ? संविधानमा त्यसरी संसद विघटनको कल्पनासमेत नगरिएको अवस्थामा टुलुटुलु हेरेर बस्ने नेम्वाङबाट के आशा गर्ने ? उनलाई सबै थाहा थियो, तरपनि संविधान विपरित संसद भंग भयो भनेर एक शब्द पनि बोलेनन् । त्योभन्दा नालायक व्यक्ति को हुन सक्छ ? यस्ता मान्छेको के काम छ ? यो त सारा मानिसले नजिकबाट हेरेका छन् नि ।

ओलीले नेपाललाई पत्रै लेखेर नेम्वाङका लागि सहयोग मागेका छन् नि ?
पत्र लेख्न सक्छन, भोट माग्न सक्छन । रेस्पोन्स गर्ने÷नगर्ने हाम्रो कुरा हो । हामी आठदलीय गठबन्धनका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्नेमा स्पष्ट छौँ । यसर्थ, ओलीले पत्र लेख्नु र नलेख्नुको कुनै अर्थ छैन । ओलीको भाषामा ‘ढोक्सा’ थापेको भन्ने छ । अहिले ओलीले नयाँ–नयाँ ढोक्सा थापिरहेका छन् । दाबीका साथ भन्न सकिन्छ, राष्ट्रपति निर्वाचनमा ओलीको ढोक्सा रित्तै हुन्छ ।

आठदलीय गठबन्धनले कस्तो ध्रुविकरण खोजेको हो ?
अहिले पनि केहीलाई ओली कम्युनिष्ट हुन् भन्ने भ्रम छ । ओली कम्युनिष्ट नै होइनन् । त्यसकारण उनी राप्रपा, रास्वपाहरू खोजेर हिँड्छन् । यो प्रतिगामी र प्रगतिशील शक्तिबीचको ध्रुविकरण हो । तपाईँ हेर्दै जानु, निर्णय गर्ने ठाउँमा पुगे भने ओलीले परिस्थिति मिल्ने बितिक्कै दुईटा काम गर्छन । एउटा, उनले नेपाललाई हिन्दुराज्य घोषणा गर्छन । दोस्रो, राप्रपा र रास्वपा आफुसँग मिलाउँछन । उनले आफुलाई राजावादी, हिन्दुवादी पार्टीको रुपमा स्थपित गराउने प्रयास गर्छन । अहिले ओलीका गतिविधि हेर्नुस त, कस्तो छ ? कुनै हिसावले कम्युनिष्टको चरित्र ओलीमा छ त ? पक्कै छैन । ओली त संविधान च्यातेर बाँचुन्जेल प्रधानमन्त्री बनिरहन चाहन्छन । तर, यस्तो कुरा जनताले बुझिराखेका छैनन् । अब, बुझ्न ढिला गर्नु हुँदैन ।

राप्रपा र रास्वपालाई ओलीले कसरी मिलाउँछन् त ?
एमालेसँगको सहकार्यकै विषयमा राप्रपा र रास्वपा पार्टी विभाजन हुन सक्छ । यदि, विभाजित भएनन् भने ती पार्टीले राष्ट्रपति निर्वाचनमा भोट हाल्दैनन् । ओलीले ती पार्टीलाई बोकेर हिँडेका छन् । त्यसबाट पनि ओलीको भित्री रहस्य के हो भन्ने बुझ्न सकिन्छ ।

महंगी बढेको छ, विकृति, विसंगति, भ्रष्टाचार व्याप्त छ । यसतर्फ चाहिँ के सोच्नुभएको छ ?
आठदलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याएर काम गर्छ । जनजीविकाको सवालमा हामी सचेत छौँ । हामीले निर्वाचनमा जनतासामू गरेका प्रतिवद्धता पूरा गर्दै अगाडि बढ्ने छौँ । महंगी नियन्त्रण, विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गर्दै स्थिरता, सुशासन र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने छौँ । विश्वमै अर्थतन्त्र संकटग्रस्त अवस्थामा छ । त्यसको असर नेपालमा पनि परेको छ । त्यसबाट कसरी जोगिने भन्नेमा हामी सचेत छौँ । राष्ट्र बैंकमा पैसा त थुप्रिएकै छ, मार्केटमा आउन पो पाएको छैन । राष्ट्र बैंकमा थुप्रिएको पैसा नीति नभएर मार्केटमा नआएको हो । राज्यले सुरक्षाको प्रत्याभूति दिने हो भने मानिसले पैसा बाहिर निकाल्छन । मार्केटमा पैसा आएपछि संकट समाधान हुँदै जान्छ । उत्पादनदेखि निर्यातसम्मका काम हामीले सोचेका छौँ । हामी एक्लै सरकारमा हुँदा जसरी त काम गर्न पक्कै सकिँदैन । तर, जनताको पक्षमा हामी दृढतापूर्वक काम गर्छौँ ।

प्रतिक्रिया दिनुहोस्