विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कोशी प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषिमार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारलाई जोड दिएको छ । साथै, विगतदेखि सञ्चालित वहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने र विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमुलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरालाई सरकारले जोड दिएको छ ।
त्यस्तै, प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझावलाई कर्यान्वयन गरिने, स्थानीय तहका स्वीकृत रिक्त दरवन्दीमा कर्मचारी पदपूर्ति प्रणालीलाई छिटो–छरितो, गुणस्तरीय बनाउन कानूनी र संरचनागत सुधार गर्दे लैजाने, प्रदेश स्तरीय सञ्चार माध्यमहरुलाई नियमन गर्न आवश्यक कानून निर्माण गरिने, प्रदेश सरकारको कार्यसञ्चालन गर्न प्रदेशको राजधानीभित्र प्राप्त हुने जग्गामा भौतिक संरचना निर्माणका लागि गुरुयोजना तयार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
साथै, प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न उपयुक्त स्थानमा ‘कोशी औद्योगिक क्षेत्र’ स्थापनाको लागि अध्ययन गरिने, अल्लो, बाँस, बेतबाँस, भेडाको उन, पशुहरुको छाला, कोगटी जस्ता स्थानीय कच्चा पदार्थमा आधारित सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना गरी परम्परागत उद्यमशीलता प्रवर्द्धनका लागि उन्नत प्रविधि अवलम्बनमा सहयोग गरिने कार्यक्रममा उल्लेख छ ।
लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहमा संरक्षण कोषको व्यवस्था गर्न सहजिकरण गरिने, कोशी प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक र ऐतिहाँसिक क्षेत्रभित्र रहेका लिपि, भाषा, साहित्य, कला, संस्कृति आदिको संरक्षण, सम्बर्द्धन, अध्ययन, अनुसन्धान गरी यस क्षेत्रलाई संमृद्ध बनाउनका लागि प्रादेशिक संस्कृति नीति तर्जूमा गरिने पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रमकाे पूर्णपाठ :