काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन् । चीनमा उपचार गराइरहेका पुन एयर चाइनाको नियमित उडानमार्फत आज (शुक्रबार) बिहान नेपाल आएका हुन् ।
पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएका हुन् । पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो । उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो ।
चीन जाँदा उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बिन्दुमा थियो । चार महिना महिना लामो उपचारपछि स्वदेश फर्किएका पुन तन्दुरुस्त देखिएका छन् ।