नेकपा (एकीकृत समाजवादी)ले १५ दिने समाजवादी जागरण अभियान सञ्चालन गर्दै छ । यही असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान आरम्भ हुँदै छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकबारे जनतालाई जानकारी गराउने उद्देश्य अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानका क्रममा समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्रिया एवं समसामयिक परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने छ । अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने जनाइएको छ ।
अर्कोतर्फ एकीकृत समाजवादीले महाधिवेशनको मिति पनि घोषणा गरेको छ । गत सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि)को विषयले एकीकृत समाजवादीमा हल्लाखल्ला नै मच्चियो । अन्ततः सचिवालय बैठकले कार्यविभाजनसँग सम्बन्धित अपानिको विषयलाई स्थगित गरेको छ ।
विद्रोह गरेर स्थापना भएको पार्टीमा अन्तरविरोध किन ? नेता तथा कार्यकर्ताको असन्तुष्टि के ? पार्टी अब कसरी अगाडि बढ्छ भन्ने विषयमा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश :
एकीकृत समाजवादीमा अन्तरविरोध किन देखियो ? नेता तथा कार्यकर्ताको असन्तुष्टि खासमा केमा हो ?
हाम्रो पार्टीले यस बीचमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोका बैठकहरू र केन्द्रीय कमिटीको छैटौँ बैठक सम्पन्न गर्याे । यी बैठकहरूमा पार्टीका विचार, नीति, सिद्धान्तको बारेमा, पार्टीको कार्यदिशाको बारेमा व्यापक रुपमा छलफल हुुनुका साथै अब हामी महाधिवेशनतर्फ जाने, १०औँ राष्ट्रिय महाधिवेशन माघमा गर्ने भनेर निर्णय गरिसकेका छौँ । त्यही निर्णयको बीचमा पार्टी शक्तिलाई परिचालन गर्नका निम्ति र हाम्रो ध्यय, उद्देश्यको बारेमा जनतालाई जागृत गर्नका निम्ति समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरिसकेका छौँ ।
पार्टीलाई महाधिवेशन केन्द्रित गरेर लानुपर्ने भएकाले कैयौँ संगठनात्मक चुनौती भए पनि पार्टीको समग्र संगठनात्मक संरचनालाई यथावत राखेर केही संकट भएका ठाउँमा मात्रै समस्याको समाधान गरेर अगाडि बढ्ने भन्ने निर्णय गरेका थियौँ । तर, यो अन्तिम अपानि (अन्तर पार्टी निर्देशन) जुन ढंगले आयो, त्यसले सबैलाई आश्चर्यचकित बनायो । र, पार्टीले गर्दै नगरेका निर्णयहरू समेत आए । कार्यविभाजनमा ठूलो बेथितिजस्तो देखियो । त्यसले देशव्यापी रुपमा र पार्टीव्यापी रुपमा कार्यकर्ताभित्र असन्तुष्टि देखा पर्यो ।
यी कुरालाई लिएर हामीले सचिवालयको बैठक गर्यौँ । सचिवालय बैठकले अपानिमा भएको कार्यविभाजनसँग सम्बन्धित विषयहरू स्थगित गर्ने र सर्कुलरलाई पुनर्लेखन गरेर सम्पूर्ण पार्टी कार्यकर्तालाई एकतावद्ध बनाएर महाधिवेशनतर्फ केन्द्रित गरेर लाने, तत्कालका लागि समाजवादी जागरण अभियानमा सम्पूर्ण कार्यकर्तालाई लाग्न आह्वान गर्ने निर्णय गरेका छौँ । जुन ढंगले समस्या देखिएको थियो । अब ती समस्या समाधान हुन्छन ।
छलफलभन्दा बाहिरबाट अपानि आएको हो ?
यस प्रकारले अपानि जारी हुने कुरा उपयुक्त होइन । पार्टीभित्र अपानि जारी गर्ने सन्दर्भमा पनि एउटा व्यवस्था गर्न जरुरी छ । र, अपानि बनाइसकेपछि एउटा निश्चित निकायले संस्थागत रुपमा छलफल गरेर जारी गर्न सकियो भने राम्रो हुन्छ । किनभने, अपानि भनेका पार्टीका आन्तरिक रुपमा जारी गरिने अत्यन्तै महत्वपूर्ण दस्तावेज हुन्छन । यिनै दस्तावेजको आधारमा पार्टीको आन्तरिक जीवन, आन्तरिक चेतना, आन्तरिक निर्देशनका कामहरू सम्पन्न हुने गर्छन । त्यसो हुनाले यो घटनाबाट पार्टीले राम्रो शिक्षा लिएर अगाडि बढ्न सक्नुपर्छ ।
भोलिको नेतृत्वलाई हेरेर अपानि जारी भयो भनिन्छ नि ?
अहिले हामी त्यता जान जरुरी छैन । यो अपानि जहाँ जहाँ पुग्यो, त्यो ठाउँका कार्यकर्ताले यो अपानि के कारणले जारी भएछ, के उद्देश्यले जारी भएछ भन्ने कुरो सबै बुझिसकेका छन् । त्यसकारण यस बारेमा अहिले धेरै चर्चा गरिराख्नु पर्दैन । जे भयो, त्यो बेठीक भएको थियो । पछिल्लो पटक सचिवालयले जे गरेको छ, त्यो ठीक भयो ।
एकीकृत समाजवादीमा कार्यशैलीको विषयलाई लिएर धेरै कार्यकर्ता सन्तुष्ट छैनन् । सम्मानित नेता पनि असन्तुष्ट हुनुहुन्छ भन्ने चर्चा सुनिन्छ नि ?
कुनै पनि पार्टीको वैचारिक, राजनीतिक कार्यदिशा क्रान्तिकारी भयो भने कार्यशैली पनि क्रान्तिकारी हुन्छ । त्यो कार्यशैलीमा दक्षिण वा वाम प्रवृत्ति जन्मियो भने कार्यशैलीमा पनि त्यही प्रवृत्ति जन्मिन्छन् । अहिले हाम्रो पार्टीको कार्यशैलीमा देखा परिरहेका समस्याहरू भनेको दक्षिणपन्थी चरित्रका छन् । कतै पदलोलुपताको समस्या छ । कतै विभिन्न ढङ्गको आफन्तवाद व्याप्त छ ।
आफन्तलाई विभिन्न सङ्गठनमा पुर्याउने भन्ने प्रवृत्ति पनि व्याप्त देखिन्छ । कतै कसरी त्यो भन्दा ठूलो ओहोदामा पुग्ने भन्ने होडबाजी देखिन्छ । आफू ओहोदामा पुग्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी शक्तिलाई पनि त्यतैतिर लतार्ने प्रवृत्तिहरू पनि छन् । यस्ता प्रवृत्ति जुन देखापरेका छन्, यो हाम्रो अहिले कार्यशैलीमा रहेका गम्भीर समस्याहरू हुन् । हामीले उँभो हेर्ने होइन, आकाशे खोर्सानी हुने होइन । हाम्रो सम्पूर्ण पार्टी पङ्क्तिलाई आम जनतासँग, बस्ती र टोल हेर्ने बनाउनुपर्छ ।
जनतालाई जागृत गर्ने, सङ्गठित गर्ने, एकतावद्ध गर्ने र पार्टी र जनताबीचको सम्बन्धलाई नङ र मासुको जस्तो बनाउने, पार्टीको जनआधार फराकिलो बनाउँदै लाने कार्यशैली मात्रै हाम्रो क्रान्तिकारी कार्यशैली हुन्छ । कसो गर्दा सिंहदरबार पुग्न सकिन्छ, कसो गर्दा बालुवाटार पुग्न सकिन्छ भनेर बालुवाटार र सिंहदरबारलाई केन्द्रविन्दुमा राखेर हिड्ने प्रवृत्तिले हाम्रो पार्टीको कार्यशैलीलाई दक्षिणपन्थी बनाएको छ । त्यसबाट पार्टीलाई मुक्त गर्दै हामीले क्रान्तिकारी कार्यशैली निर्माण गर्नुपर्छ । तबमात्रै सारा कमिकमजोरीलाई हटाउँदै हामी एउटा साचो अर्थको सर्वहारावादी, क्रान्तिकारी, मार्क्सवादी, लेनिनवादी पार्टी निर्माण गर्न सक्छौँ ।
गठबन्धनमा रहिएन र कांग्रेसलाई चिढ्यायो भने त पार्टीको अस्तित्व नै समाप्त हुन्छ भन्ने कुरा नेतृत्वबाट आएको छ नि ?
कम्युनिष्ट पार्टी गठबन्धनबाट जन्मिदैन । कम्युनिष्ट पार्टी भनेको वर्ग सङ्घर्षबाट जन्मिने पार्टी हो । श्रमजीवी वर्गले चलाइरहेको सङ्घर्षको अनिवार्य प्रतिविम्बको रुपमा कम्युनिष्ट पार्टी जन्मिन्छ । र, वर्ग सङ्घर्षबाट नै कम्युनिष्ट पार्टीको विकास, विस्तार र सुदृढीकरण हुन्छ । कुनै पनि प्रकारका गठबन्धनबाट कम्युनिष्ट पार्टी जन्मिदैन ।
गठबन्धनबाट कम्युनिष्ट पार्टी बलियो पनि हुँदैन । र, प्रधान प्रतिद्वन्द्वी शक्तिहरूसँग जुध्दै अगाडि बढ्ने क्रममा र मुख्य प्रतिद्वन्द्वीका विरुद्ध अरु सम्पूर्ण शक्तिलाई एकतावद्ध बनाउँदै जाने क्रममा नयाँ क्रान्तिकारी गठबन्धन चाहिँ बन्छ । तर, क्रान्तिकारी होइन, अक्रान्तिकारी वा प्रतिक्रान्तिकारी वा यथास्थितिवादी गठबन्धनले चाहिँ कम्युनिष्ट पार्टीलाई बलियो होइन, कमजोर बनाउँदै लान्छ । त्यसकारण संयुक्त मोर्चाको बारेमा पनि क्रान्तिकारी धारणा के हो ? र अवसरवादी धारणा के हो ? भन्ने बारेमा सिंगो कम्युनिष्ट आन्दोलनले प्रष्ट भएर जानु आजको आवश्यकता हो ।
अहिले प्रधानअन्तर विरोध कोसँग हो ?
अहिलेको अवस्थामा हामी दलाल पुँजीवाद र व्यापक जनताको बीचका अन्तरविरोधलाई मुख्य वर्गीय अन्तरविरोध मान्छौँ भनेर किटान गर्नुपर्छ । साथसाथै, वर्गीय अन्तरविरोध कसरी राजनीतिक रुपमा प्रतिबिम्बित भइरहेको छ, राजनीतिमा मुख्य प्रतिद्वन्द्व कसको बीचमा छ भन्ने प्रश्न अहिलेको अत्यन्त ज्वलन्त प्रश्न हो । यो ज्वलन्त प्रश्नमा नै नेपालका कम्युनिष्टहरू घुँडा टेक्दै गइरहेका छन् । यसमा मेरो प्रष्ट धारणा के छ भने, अहिलेको अवस्थामा समाजवादी शक्ति र पुँजीवादी शक्तिको बीचको प्रतिद्वन्द्विता, मुख्य प्रतिद्वन्द्विता हो । त्यसैले समाजवादी शक्तिहरूले पुँजीवादी शक्तिहरूसँग प्रतिष्पर्धा गर्ने, पुँजीवादी शक्तिहरूले समाजवादी शक्तिहरूसँग गर्ने कुरा नै आजको मुख्य प्रवृत्ति हो । राजनीतिक अन्तरविरोधको सार बस्तु यही नै हो ।
सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका समाजवादी जागरण अभियानले के सन्देश दिन्छ ?
हामी अहिले पुँजीवादी समाजमा छौँ । पुँजीवादी समाजमा अनेकौँ प्रकारका विकृति र विसंगति फैलिरहेका छन् । भ्रष्टाचार व्याप्त छ । महँगी उर्लिरहेको छ । व्यापार घाटा चुलिइरहेको छ । बजारमा ठूलो अव्यवस्था देखा पर्दैछ । धेरै सटरहरू बन्द हुँदै गएका छन् । राष्ट्रिय उद्योग धन्दाहरू बन्द हुँदै छन् । मुलुक पराधीनभन्दा पराधीन हुँदै गइरहेको छ । ठूलो सङ्ख्यामा हाम्रा युवाहरू विदेशिने क्रम जारी छ । त्यसलाई रोक्न सरकारले कुनै कदम चाल्न सकिरहेको छैन । यस्तो अवस्थामा जनतामाथि जुन प्रकारको शोषण, दमन, अन्याय, अत्याचारहरू जारी छन् ।
आम जनतामाथि विभिन्न जाति, जनजातिमाथि, महिलामाथि, दलितमाथि जुन प्रकारका विभेदहरू जारी छन् । ती सारा विभेद र वर्गीय शोषण, भ्रष्टाचार र तमाम किसिमका विकार, विकृतिहरूको विकल्प समाजवाद हो । समाजवादमा नपुगेसम्म यी समस्या समाधान हुँदैनन् । अहिलेको अवस्थामा तपाई हामी जागृत र सङ्गठित भएर यी विषय अगाडि सारेर ठूलाठूला राष्ट्रव्यापी आन्दोलन गर्नुपर्छ । र, सरकारलाई यी समस्या समाधान गर्न प्रचण्ड दबाबहरू सिर्जना गर्दै मुलुकलाई समाजवादतर्फ अगाडि बढाउनुपर्छ भन्ने हिसाबले समाजवादी जागरण अभियान सुरु गर्दै छौँ । यो अभियान काँकडभिट्टाबाट सुरु भएर महाकालीको तिरमा पुगेर समापन हुनेछ ।
पुँजीवादी व्यवस्था नै हो त अहिलेको समस्याको जड ?
मार्क्सवादीहरूले वर्गीय समाजमा उत्पन्न हुने र विकास गर्ने सबै चिन्तन, विचार, दर्शन, व्यवस्था, तन्त्र, लोकतन्त्र, पार्टी, संगठन सबैको वर्गचरित्र हुन्छ भन्ने कुरा भुल्नु हुँदैन । आज हामीले स्थापना गरेको लोकतन्त्रलाई सुधारिएको संसदीय व्यवस्था, जनताको संसदीय व्यवस्था, बहुदलीय लोकतन्त्र, बहुदलीय जनवाद वा जनताको बहुदलीय जनवाद वा सम्पूर्ण लोकतन्त्रलगायत जस्ता नाम दिए पनि हुन्छ । ती नाम जतिसुकै रंगीचंगी र सुन्दर राख्न खोजे पनि आजको लोकतन्त्र भनेको पुँजीवादी लोकतन्त्र नै हो ।
यसको वर्गचरित्र पुँजीवादी हो । यो अन्तिम विश्लेषणमा पुँजीपति वर्गको लोकतन्त्र हो । यो पुँजीवादी लोकतन्त्रले शोषणलाई अन्त्य गर्न सक्दैन । एक वर्गले अर्को वर्गलाई गर्ने अन्याय र अत्याचारलाई अन्त्य गर्न सक्दैन । यसले जनतालाई समानताको हक दिन सक्दैन । यसले नेपाली समाजमा विद्यमान जातीय धार्मिक र सांस्कृतिक विभेदलाई अन्त्य गर्न पनि सक्दैन । यसले भ्रष्टाचारलाई अन्त्य गर्दैन ।
यसले साम्राज्यवाद र प्रभुत्ववादबाट देशलाई स्वतन्त्र र मुक्त बनाउन पनि सक्दैन । यसले पारदर्शी ढंगले विकास निर्माण पनि गर्न सक्दैन । यसले त शोषणका अधिकारलाई सुरक्षित मात्रै गर्छ । यसले पुँजीपति वर्गलाई शोषण र भ्रष्टाचार गरेर जति पनि सम्पत्ति केन्द्रीकरण गर्ने अधिकार दिन्छ । यसले मुठीभरका पुँजीपतिका हातमा सारा सम्पत्ति केन्द्रीकरण गर्न अनुमति दिन्छ र आमजनतालाई गरिबीको रेखामुनि खसाल्छ ।
यसले भयानक ढंगले आम्दानीको खाडल बढाउँदै लान्छ । त्यसैले मुलुकमा पुँजीवादी व्यवस्था स्थापना भएको छोटो अवधिमा मुलुकमा चौतर्फी संकट बढ्दै गएका छन् । ती संकट अझ गहिरिँदै जान्छन् र समाजवादी क्रान्तिका निम्ति वस्तुगत आधार झन्झन् गहिरो बन्दै जान्छन् । यो समाज विकास र क्रान्तिको नियम नै हो ।
समाजवादी कार्यक्रमचाहिँ कस्तो हुन्छ ?
हामीले समाजवादी अवधारणाहरू अगाडि सारिरहेका छौँ । समाजवादी अवधारणाबारे सुचित, प्रशिक्षित गर्दै छौँ । त्यसका साथसाथै हामी नेपाली विशेषताको समाजवादी कार्यक्रम ड्राफ्ट गरिरहेका छौँ । हामी त्यसलाई आगामी महाधिवेशनबाट पारित गर्छौँ ।
महाधिवेशनभन्दा अगाडि हामी कार्यकर्ताको बीचमा लिएर आउछौँ । आवश्यक परे हामी बुद्धिजीवीको बीचमा पनि छलफल गर्ने छौँ । समाजवाद नै हाम्रो देशको अबको विकल्प हो भन्ने कुरा हामी प्रस्तुत गर्नेछौँ । त्यसका लागि जनमत निर्माण गर्ने, कार्यकर्ता परिचालन गर्ने काममा अहिले हामी समाजवादी जागरण अभियान सञ्चालन गर्दै छौँ ।