Logo
Logo

सरकार, आफ्ना नागरिकप्रति जिम्मेवार बन


- दृष्टि न्युज/संवाददाता

0
Shares

  • अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक

काठमाडौं, १४ बैशाख । कोरोना भाइरसका कारण सिंगो नेपाली जनता जीवन–मरणको लडाइँमा छन् । यस्तो संकटको अवस्था सरकारले आफ्नो सम्पूर्ण ध्यान कोरोनाविरुद्धको अभियानमा लगाउनुपर्ने बेला राजनीतिक खिचातानी गुर्न राम्रो होइन ।
नेपाली जनताले राजनीतिक स्थिरता, सुख, समृद्धिका लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाई मत दिएका हुन् । यस्तो मानवीय संकटको बेला सरकार नेपाली नागरिकको जीवनरक्षामा उभिनुपर्छ ।

अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक

अहिले त सबै जनता ‘लकडाउन’का कारण घर–घरमै बसिरहेका छन् । ‘लकडाउन’ले लाखौँ बेरोजगार सिर्जना गरेको छ । उद्योग धन्दा, व्यापार–व्यवसाय सबै ठप्प छन् । ‘लकडाउन’ खुलेपछिको अर्थतन्त्रलाई कसरी ठीक ठाउँमा ल्याउने भन्ने कुराको योजना आजैदेखि थाल्नुपर्छ । यसका लागि देशका विज्ञहरुसँग परामर्श गर्नुपर्छ । अन्यथा, बेरोजगारीले समाजमा अपराध बढाउने खतरा हुन्छ ।
कोरोना भाइरसका कारण छिमेकी भारतमा पनि ठूलो बेरोजगार समस्या थपिँदैछ । खाद्यसंकट उत्पन्न हुँदैछ । कथंकदाचित भारतमा खाद्यसंकट उत्पन्न भयो भने खाद्यन्न आयात ठप्प हुन्छ । त्यसको प्रत्यक्ष प्रभाव हामीमा पर्छ । त्यसैले कृषिजन्य उद्योगको व्यवस्थापनमा हामी आजैदेखि लाग्नुपर्छ । आन्तरिक उत्पादन बढाउनुपर्छ । भारतबाट गाउँ–गाउँमा आएका नेपाली युवालाई विषेश प्याकेज दिएर गाउँमै उत्पादनसँग जोड्नुपर्छ र स्वदेशमै कामगरी खाने वातावरण बनाउनुपर्छ । नेकपाले चुनावमा गाउँमा बाँडेको आश्वासन कार्यान्वयन गर्ने बेला पनि यही नै हो ।
कोरोनाका कारण विदेशमा लाखाँै नेपाली अलपत्र परेका छन् । उनीहरु आफ्नो देश फर्कन पाउनुपर्ने नैसर्गिक अधिकार हो । विदेशबाट जहाज चार्टर्ड गरेर आफ्नो देश फर्कन चाहने नेपालीहरुलाई सरकारले सहजीकरण गर्नुपर्छ । नेपालमा रहेका साढे चार हजार विदेशीहरुलाई उनीहरुको सरकारले जहाज चार्टर्ड गरेर स्वदेश फर्काएको घटनाबाट पनि हामीले शिक्षा लिनुपर्छ ।
मैले विभिन्न सञ्चारमाध्यममा सुनेअनुसार अमेरिकाबाट जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका नेपाली नागरिकलाई नेपाल सरकारले अनुमति दिएन रे । यो न्योयोचित भएन । आफ्ना नागरिकको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व हो । यस विषयमा सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्लको इजलाशले समेत निर्णय गरेको छ । त्यसको पालना गर्नु सरकारको जिम्मेवारी हो ।
अन्त्यमा हाम्रा लागि खुला सीमा ठूलो समस्या बनेको छ । त्यहाँबाट महासंकट नभित्रियोस् भन्नतिर सरकारले सोच्नुपर्छ ।

(खरेलसँग कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्