काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःखपीडामा परेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै सहयोगको भावना वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले उक्त कुरा बताएका हुन् ।
दुर्घटनापछि अध्यक्ष दाहाल कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गरेका थिए । उनको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायत शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गरेका छन् ।
सहयोग घोषणा कार्यक्रममा अध्यक्ष दाहालले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटवासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिए । उनले भने, ‘समाजमा पीडामा भएका र सेवा आवश्यक भएकालाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’
पार्टीले बालिकाहरुको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरीलाई पठनपाठनको व्यवस्था मिलाउने बताए । सो क्रममा सहयोगी नेपालले बालिकाका परिवारलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गरेका थिए ।