काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘पछिल्लो समय म जहाँ गएँ, त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन ।’
त्यस्तै, उनले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको दाबी गरे । ‘जनताले मनमनै फैसला गरिसकेको छ । जनतालाई माया गर्ने पार्टी माओवादीले हो, परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ’, प्रचण्डले भने ।
‘भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्धिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ । को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ’, उनले भने ।
सरकार छाड्ने बेला केही मिडियाले माओवादी अब सिद्धिने भयो भनेर नियोजित दुष्प्रचार गरेको उल्लेख गर्दै प्रचण्डले माओवादी २०८४ को चुनावमा २०६४ साल फर्काउने गरी जनमत बढाउँदै गएको बताए ।