काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन प्रतिनिधिसभाको अर्थ समितिबाट फिर्ता भएको छ । आज बसेको बैठकमा सर्वसम्मतिमै विधेयक फिर्ता गर्ने सभापति सन्तोष चालिसेको प्रयास असफल भएपछि विधेयक बहुमतले फिर्ता भएको हो ।

विधेयक समितिमा विचाराधीन रहेकै बेला सरकारले अध्यादेश ल्याएको थियो । विधेयक फिर्ता गर्ने निर्णयको पक्षमा कांग्रेस र एमालेका सांसदहरू थिए । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले कानुन बमोजिम अध्यादेश ल्याइएको र यसमा कुनै गलत आशय नभएको भन्दै विधेयक फिर्ता गर्न समितिलाई आग्रह गरेका थिए ।
तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले समितिमा विचाराधीन विधेयक फिर्ता गरेर संसदको अधिकार हनन गर्न खोजेको बताएका थिए । विधेयक फिर्ता गर्ने निर्णयमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले ’नोट अफ डिसेन्ट’ लेखेका छन् ।
विधेयक फिर्ता गरेर अध्यादेश ल्याउनुपर्नेमा त्यसो नगरिएको र समितिमा विचाराधीन विधेयकलाई निष्क्रिय बनाएर संसदको अधिकार कुण्ठित गर्नु निरंकुशताको उदाहरण भएको भन्दै आएको अध्यादेश पनि फेल गर्नुपर्ने भनेर उनले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।