Logo
Logo

सभामुख घिमिरेले रविलाई के जवाफ दिए ?


1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार प्रतिनिधिसभा संघीय संसद सचिवालय सिंहदरबार पुगेर सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २७ बमोजिम गरिएको निलम्बन कानुनसम्मतः नभएको भन्दै आजैदेखि प्रतिनिधिसभा सदस्य पद निलम्बन फुकुवा गरिदिन सभामुखसँग माग गर्दै निवेदन दिएका छन् ।

पोखराको सुर्यदर्शन सहकारी बचत अपचलनसम्बन्धी मुद्दासँगै सम्पत्ति शुद्धीकरण मुद्दा पनि लागेपछि पुस ८ गतेदेखि लामिछानेको प्रतिनिधिसभा सदस्य पद निलम्बनमा छ । तर, लामिछानेले पोखरा, काठमाडौं र रूपन्देही अदालतको आदेशअनुसार आफू धरौटी बुझाएर थुनामुक्त भएकोले निलम्बन फुकुवा गरिदिन माग गरेका हुन् ।

लामिछानेले सभामुखसँग भने, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुनसम्मत छैन, आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुप¥यो ।’

सभामुख देवराज घिमिरेले निवेदन बुझ्दै विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको जबाफ दिए । उनले भने, ‘विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन ।’

सभामुख घिमिरेले थपे, ‘हिजो यस पदमा अरू कोही थियो । आज म छु । भोलि अरू कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो ।’ उनले लामिछानेमाथिको निवेदन छलफल र परामर्शको विषय रहेको बताए । साथै, सभामुख घिमिरेले सोधे– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

साथै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने रूपन्देहीको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्