काठमाडौं, ३० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालना र रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् ।प्रतिनिधिसभा विघटनपछि संविधान संकटमा परेको चौतर्फी आवाज उठिरहेका बेला उपराष्ट्रपति पुनले संविधान रक्षाका लागि सबै नेपालीलाई सांकेतिक आह्वान गरेका हुन् ।
उनले संविधानको रक्षा भए सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको शासन व्यवस्था सुनिश्चित हुने बताएका छन् ।
तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ र शेर्पा तथा हिमाली आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष ग्याल्वो ल्होसार–२१४८ का सन्दर्भमा शुभकामना दिंदै उनले जनतालाई आह्वान गरेका हुन् ।
उपराष्ट्रपतिले मुसा वर्गको बिदाइ र गाई/गोरु वर्गको स्वागत गरी मनाइने सोनाम ल्होसार र ग्याल्बो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे ।
नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा योगदान पुर्याउनुका साथै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा उपराष्ट्रपतिले गरे।