काठमाडौं, १ फागुन । जनयुद्धका सुप्रिमो प्रचण्डले शनिबार पूर्वसहयोद्धा डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन समारोहमा भनेका थिए– ‘बाबुराम र मलाई इतिहासले अलग हुन दिँदैन ।’
निक्कै लामो समयको अन्तरालपछि जनयुद्धका दुई मुख्य कमाण्डर प्रचण्ड र बाबुराम एउटै मञ्चमा हुँदा प्रचण्डले यसो भनेका हुन् । हो, इतिहासले यी दुई पात्रलाई अलग हुन दिँदैन । तर, परिस्थिति वा अन्य कुनै कारण यी दुई पात्र एक ठाउँमा छैनन् ।
जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि प्रचण्ड र बाबुरामको सहकार्य लामो समय रहेन । संविधानसभाको निर्वाचन, संविधानसभाबाट संविधान जनयुद्धकै मुद्धा थियो । जनयुद्धकै प्रतिफल, संविधानसभाको निर्वाचन सम्पन्न भयो । संविधानसभाले संविधान जारी गर्यो ।
संविधान जारी गर्न भट्टराईको भूमिका स्मरणयोग्य छ । संविधान जारी भएपछि प्रचण्ड संविधान कार्यान्वयनमा जुटे तर सहयोद्धा बाबुराम संविधान अपूर्ण रहेको भन्दै नयाँ चरणको आन्दोलनमा होमिए । संविधान जारी भएपछि प्रचण्ड–बाबुरामको लामो सहयात्रा यसरी नै टुट्यो ।
प्रचण्ड–बाबुराम अहिले अलग–अलग पार्टी नेतृत्व गर्छन् । तर, प्रचण्डले भनेझै प्रचण्ड र बाबुरामलाई इतिहासले अलग हुन दिँदैन । वर्तमान राजनीतिक व्यवस्थाका हिमायती प्रचण्ड–बाबुरामलाई अरु कसैले पनि फरक कित्तमा राखेर हेर्न सक्दैन । किनकी, आजको परिवर्तन यी दुई एक हुँदाको परिणाम हो । जनयुद्ध यी दुबैको बलमा भएको थियो । हजारौंको बलिदानी यी दुबैको आह्वान र आदेशमा भएको थियो ।
प्रचण्ड संशोधनवादी कित्तामा सर्नु र बाबुराम कम्युनिष्ट आन्दोलनबाट बाहिरिनुका अनेक कारण हुन सक्छन् । तर, यी दुबैलाई विगत भूल्ने छुट छैन । कम्युनिष्ट आन्दोलनबाट बाहिर बस्न खोजेका बाबुरामलाई गैह्र कम्युनिष्ट हुने छुट जसरी छैन प्रचण्डलाई त्यसरी नै संशोधनवादी कित्तामा सर्न पनि छुट छैन । तर, दुबैले बाटो बिराए । जनयुद्धका कमाण्डर विचलित हुँदाको परिणाम हजारौंको बलिदानीमा स्थापित वर्तमान व्यवस्थामाथि प्रहार हुँदैछ ।
जनयुद्धको ‘ज’ सम्म उच्चारण गर्न नचाहने केपी शर्मा ओली जनयोद्धाको चिन्ता लिने भइसके । प्रचण्ड–बाबुरामको गौरवपूर्ण इतिहासमा हिलो छ्याप्न ओली जनयोद्धालाई ‘ललिप’ बाड्दैछन् । ‘जनयुद्धका लागि आह्वान गर्ने कमाण्डर खराब नै पो हुन् कि क्या हो ?’ भनेर जनयोद्धालाई भ्रममा पार्ने आट ओली लगायत जनयुद्ध विरोधीलाई त्यसै आएको होइन् । जनयुद्धका कमाण्डरमा आएको विचलन यसको कारण हो ।
संयोग मान्नु पर्छ । जनयुद्धको उपलब्धी संकटमा परेको बेला जनयुद्धका कमाण्डरद्धय प्रचण्ड र बाबुराम लामो समयपछि जनयुद्ध दिवसकै दिन एउटै मञ्चमा देखिए । जुन मञ्चमा प्रचण्डले ‘बाबुराम र मलाई इतिहासले अलग हुन दिँदैन’ भने । तर, इतिहासले मात्र होइन, वर्तमानले पनि प्रचण्ड–बाबुरामलाई अलग हुन दिँदैन । किनकी गौरवपूर्ण इतिहास निर्माणको क्रममा भएका सारा घाटा–नाफा दुबैको थाप्लोमा बराबर पर्छ । बाबुराम भाग्ने, प्रचण्ड एक्लैले सबै व्यहोर्ने कुरा हुँदैन ।
अनेक वहानामा भाग्न खोजे पनि बाबुरामलाई विगतले भाग्न दिँदैन । आफ्नो पुस्तक विमोचनमा बाबुरामले भनेका थिए– ‘कतिपय मानिस हेग जानुपर्छ भन्न थालेका छन् । किन हेग जाने हामी ? यो महान क्रान्ति थियो, क्रान्ति गरे पावत कोही हेग गएको छ ?’
बाबुराम कम्युष्टि आन्दोलन छोडेर अन्तै गए पनि विगतले कतै जान दिँदैन भन्नुको अर्थ यो नै हो । बाबुराम न जनयुद्ध गलत थियो भन्न सक्छन् न जनयुद्धका गुणदोषको भागिदार हुन सक्दिन भन्न सक्छन् । त्यसैले त भन्दैछन्– ‘जनयुद्ध महान क्रान्ति थियो ।’
जनयुद्धका दुई कमाण्डरले एउटै मञ्चबाट बोलेको एउटै वाक्य थियो– ‘सबै उपलब्धि गुम्न लाग्यो । उपलब्धि रक्षाका लागि संघर्षमा जुट्नुको विकल्प छैन ।’ यसको मतलव आफ्नो विगतप्रति दुबैलाई हिनतावोध त पक्कै छैन । तर, एकै ठाउँबाट उपलब्धि रक्षामा जुट्न दुबैलाई के कुराले रोक्यो ? विचार, आर्दश वा सिन्द्धात के हो प्रचण्ड–बाबुरामलाई अगल गराउने ? आमनागरिकको मनमा सधै यस्तै प्रश्न हुन्छ ।