Logo
Logo
७१ औं प्रजातन्त्र दिवस

लोकतन्त्रमा संवैधानिक ‘कू’ हुँदा चिन्तित प्रजातान्त्रिक सेनानी


दृष्टि संवाददाता

630
Shares

काठमाडौ, ७ फागुन । नेपालमा प्रजातान्त्रिक आन्दोलन भएको ७१ वर्ष पुगेको छ । तर, आज पनि संविधान रक्षार्थ नागरिक आन्दोलनमा उत्रिनुपर्ने भाउँतो आइलागेकोछ । प्रजातन्त्रका लागि भएको नागरिक आन्दोलनको जगमा उभिएर देशमा २०६२/६३ सालमा जनआन्दोलन भयो । यसको परिणाम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्यो ।

जनताका लागि भन्दै १४ वर्षसम्म जेल जीवन भोगेको पटक–पटक भन्दै हिड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नै जनताको प्रतिनिधित्व मानिएको संविधानसभाबाट बनाइएको संविधानलाई कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेका छन् । यही पृष्ठभूमिमा प्रजातन्त्र सेनानी हिरामणि सुवेदी चिन्तित छन् ।

उमेरले ८६ वर्ष पुगेका कास्कीको पोखरा महानगरपालिका–२७ लेखनाथ चोक निवासी सुवेदी नेपाली राजनीतिमा देखिएको एकले अर्काको अस्तित्व नस्वीकार्ने प्रवृत्तिप्रतिले लोकतन्त्रमाथि प्रहार भएको बताउँछन् । ‘राजनीतिमा इमान हरायो’, उनले भने, ‘२००७ सालमा प्रजातन्त्र आएपछि विपीले सुवर्णलाई प्रधानमन्त्री तपाईं हुनुपर्छ भन्दा सुवर्णले हैन तपाईं नै हुनुपर्छ भन्नुभयो ।’ तर हिजो–आज आफैं शक्ति र सत्तामा रहिरनुपर्छ भन्ने मान्यताले जरा गाडेको उनको भनाइ छ ।

विक्रम संवत् २०१५ मा दुई/दुई निर्वाचन क्षेत्र हारेका कृष्णप्रसाद भट्टराईलाई उनको आवश्यकता देशका लागि छ भन्ने ठानेर सभामुख बनाइएको प्रसङ्ग उल्लेख गर्दै सुवेदी अहिले मनोनीत गर्दा योगदान, देशको आवश्यकताभन्दा पनि परिवारका सदस्यलाई गर्ने प्रवित्तिप्रति चिन्ता राख्छन् ।

विसं २००९ मा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुवर्णशम्शेरका हातबाट पार्टीको सदस्यता लिएका सुवेदी त्यसयता प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा सक्रिय रहँदै आए । राजनीतिक जीवन निकै उतारचढावमा बिताएका सुवेदी २००७ सालमा नै १५ वर्षका उमेरमा कांग्रेसका नेता कार्यकर्तालाई बास दिएको आरोपमा आमासहित थुनामा परेका थिए ।

थुनामा परे पनि आमा महिला र आफू नाबालक भएकाले दुई दिनपछि हप्कीदप्कीसहित तारेकमा थुनामुक्त भएका थिए, सुवेदी । आफूले राजनीतिक जीवनमा अनेकौँ हण्डर र ठक्कर व्यहोर्नु परेको बताउँदै उनले भने, ‘राजनीतिमा लाग्नुका पछाडि मेरा खास केही मान्यता र दर्शन थिए ।

जनताको जीवनस्तर उकास्ने, गरिबगुरुवालाई न्याय गर्ने, विधिको शासन चलाउने र देशको चौतर्फी विकास गर्ने उच्च अभिलाषा बोकेर राजनीतिमा लागेको थिएँ । विसं २०१३ को भद्र अवज्ञा आन्दोलनदेखि २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनसम्म हरेक राजनीतिक अभियान र आन्दोलनको अग्रमोर्चामा रहेका सुवेदीले राजनीतिक प्रतिशोधका कारण तत्कालीन राज्य प्रशासनबाट कहिले तार चोरेको अभियोग, कहिले पुल भत्काएको आरोप त कहिले विजयपुरको बाँध भत्काएको दोष व्यहोनुपरेको थियो ।

“यी आरोप मात्र नभई विपीको फोटो सिरानतिर राजाको फोटो किन गोडामुनि भन्नेसम्मका प्रश्न तत्कालीन प्रशासनले सोधेर दुःख र हैरानी दिने गरेको थियो”, उनले अनुभव सुनाए ।

लाभको पद नलिई खट्ने धेरै कार्यकर्ताको त्याग र बलिदानले राज्यमा ठूलाठूला परिवर्तन आए पनि राजनीतिक संस्कार हराउँदै जाँदा भएका उपलब्धि पनि गुम्ने खतरा दिनानुदिन बढिरहेको प्रति प्रजातन्त्र सेनानी सुवेदी निकै चिन्तित छन् ।

विसं २०१५ मा कांगे्रस पार्टीको महाधिवेशन प्रतिनिधि बनेका उनी २०१७ सालमा तत्कालीन पञ्चायती सरकारले अराष्ट्रिय तत्व भन्दै लेखनाथ चोकबाट गिरफ्तार गरी जेल हालेको थियो । विसं २०४२ मा कांग्रेसको पार्टीको केन्द्रीय सल्लाहकार बनेका सुवेदीले २०३३ बाट २०५३ सम्म पार्टीको जिल्ला कार्यसमितिमा रही काम गरे ।

यस बीचमा २०४८ बाट २०५३ सम्म पार्टीको जिल्ला उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष भई जिम्मेवारी निभाए । विसं २०६९ मा प्रजातन्त्र सेनानी घोषणा भएका उनी २०६० मा पार्टीको महासमिति सदस्य बने ।

राजनीतिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील सुवेदी लक्ष्मी मावि अर्घौं (२०१३) र लक्ष्मी आदर्श मावि शिशुवा (२०२५) को संस्थापक हुन् ।

प्रतिक्रिया दिनुहोस्