काठमाडौं, ८ फागुन । जघन्य अपराध हत्या, बलात्कार जस्ता घटनाका आरोपीले आममाफी नपाउने कानूनहरुमा उल्लेख छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा हत्याका दोषीले पनि उन्मुक्ति पाएका छन् ।
चितवन जिल्ला कारागारमा रहेका तत्कालिन शिव पौडेलको हत्यामा दोषी ठहर भएका तीन जनालाई कैद मिनाहा गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसर पारेर पौडेल हत्याका दोषी फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको बाँकी सजाय मिनाहा गरेकी हुन् ।
ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका का अवसरमा ५ सयभन्दा बढी जना (४०१ कैदी र १७९ बन्दी) लाई बाँकी कैद माफी मिनाहा गर्ने क्रममा उनीहरू पनि परेका हुन् । यी तीनै जना ओली निकट मानिन्छन् ।
असल चालचलन भएका कैदीबन्दीलाई प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, दसैंजस्ता महत्वपूर्ण अवसरमा बाँकी सजाय माफी दिई कारागारमुक्त गर्ने प्रावधान छ । यता, कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले पौडेल हत्यका दोषीलाई माफी दिएको प्रति आपत्ति जनाएको छ ।
तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भएकै कारण आफ्ना तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तीन कैदीलाई छुटकारा दिइएको आरोप लगाएको छ । वि.सं. २०६८ पुसमा चितवन जिल्ला कारागारभित्रै पौडेलको हत्या गरिएको थियो ।
जसमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई बाँकी सजाय मिनाहा गर्दै रिहा गरिएको थियो । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरी उनीहरूलाई आममाफी दिइएकोप्रति नेपाल तरुण दल गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ ।’
अगाडि भनिएको छ, ‘जेलभित्रै हत्याजस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपतिजस्तो संस्थाले आममाफी दिनु देशमा हत्या, हिंसाजस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छित क्रियाकलापलाई प्रोत्साहित गर्ने कार्य दिनप्रतिदिन बढ्दै गइरहेको प्रस्ट भएको छ ।’