काठमाडौं, ८ फागुन । असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरिएकोप्रति नागरिक प्रदर्शन जारी छ । आज पनि काठमडौंको माइतीघरमण्डलामा नागरिक प्रदर्शन गरिने भएको छ ।
मध्यान्ह १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्न लागिएको हो । अहिंसात्मक नागरिक प्रदर्शनमा डा. गोविन्द केसी लगायत नागरिक समाजका अगुवाहरु सहभागी हुने छन् ।
प्रतिनिधिसभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न आयोजकले शनिबारको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दल, कलाकार, समाजका विभिन्न तह र समूह तथा नागरिक समाजले मुलुकभर हरेक दिन विभिन्न शैलीका विरोध कार्यक्रम भइरहेका छन् ।
हिजो बृहत्त नागरिक आन्दोलनले टुँडिखेल बाहिरपट्टि मार्चपास गर्दै घोषणापत्र जारी गरेको थियो ।