Logo
Logo

के केपी ओलीले प्रचण्ड–माधव समूहसँग संवाद चाहेकै हुन् ?

माधव नेपालसँग ओलीका ‘दूत’को नियमित सम्पर्क


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेपाल कम्युनिष्ट पार्टीका एउटा समूह सत्तामा र अर्को समूह सडकमा छ । नेकपाका प्रचण्ड–माधव समूह तथा प्रतिपक्ष दलहरु र नागरिक समाज समेत आन्दोलनमा उत्रिंदा प्रधानमन्त्री केपी शर्मा ओली केही गलेका छन् ।

 

 

स्रोतहरुका अनुसार ओली प्रचण्ड–माधव समूहसँग एकपटक संवाद गर्ने पक्षमा उभिएका छन् । प्रधानमन्त्री ओलीले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा समेत असन्तुष्ट पक्षलाई संवादमा आउन आग्रह गरेका थिए । उनले भने, ‘वर्तमान राजनीतिक उपलब्धिको रक्षाका लागि असन्तुष्ट पक्षलाई संवादमा आउन आग्रह गर्छु ।’

उनको यो आग्रहले पनि केही गलेको पुष्टि गर्छ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला नजिकिदै जाँदा र आन्दोलन चर्को बन्दा ओली एकपटक वार्ताको प्रस्ताव मार्फत आन्दोलनलाई ‘डाइभर्ट’ गर्ने पक्षमा रहेको राजनीतिक जानकारहरुले बताएका छन् ।

ओलीले संवादमा आउन आग्रह गरेकै दिन प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले पनि शुक्रबार आफ्नो समूहका उपलब्ध केन्द्रीय सदस्यहरुको पेरिसडाँडामा भएको बैठकमा ओलीले ‘दूत’हरु पठाएको जानकारी दिएका थिए । तर, उनले ओलीसँग विश्वास टुटेकाले संवादको सम्भावना नकारेका छन् ।

उनले भने, ‘हामीसँग वार्ता गर्न ओलीले दूतहरु पठाएका छन् । ओलीको गुलियोमा भुल्न हुँदैन ।’ ओलीले संवादको आग्रह गर्नु र नेपालले दूतहरु पठाएको भन्नु संयोग मात्र होइन ।

प्रंतिनिधिसभा पुनस्र्थापना भएपनि वा मुलुक निर्वाचनमै गएपनि प्रचण्ड–माधव पक्ष ओलीसँग सहकार्य वा एकता गर्ने पक्षमा छैन । यो समूहले ओलीले जुनसुकैबेला धोका दिन सक्ने र आन्दोलनलाई कमजोर पार्न हरसम्भव प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

ओली प्रयासः
चारैतिरबाट कमजोर बनेका प्रधानमन्त्री ओलीले अहिले पूर्वएमालेलाई मात्रै भएपनि फकाउने प्रयास थालेका छन् । माधवकुमार नेपाललाई यही सन्देश दिन ओली निकटका दोस्रो तथा तेस्रो तहका नेता परिचालन गरेका छन् ।

‘दूत’का रुपमा परिचालित नेताहरुले नेपालसँग भेट गर्नुका साथै फोन सम्पर्क पनि बढाएको स्रोतले बताएको छ । उनले प्रस्ताव गरेको ‘पूर्वएमाले एक होऔं’ भन्ने अशस्त्रलाई नेपालले अस्वीकार गरेका छन् ।

अहिले ओलीले प्रचण्ड–माधव समूहसँग संवादको नाममा अर्को अस्त्र फालेका छन् । दुबै समूहलाई संवादमा ल्याउनका लागि ओली समूहले प्रदीप ज्ञवाली लगायतका केही नेताहरुलाई परिचालन गरेको स्रोतको भनाइ छ । अहिले दुबै पक्षसँग कुराकानीका लागि नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका वामदेव गौतम सक्रिय बनेको स्रोतको भनाइछ ।

प्रचण्ड–माधव समूहको अस्वीकारः

यता, प्रचण्ड–माधव समूहले भने ओलीको संवादको प्रस्तावलाई सहज मानेको छैन । यो समूहले ओलीको चालबाजको रुपमा लिएको छ । अहिले प्रतिगमनको अवस्थामा संवादको अर्थ नरहेको प्रचण्ड–माधव समूहको निष्कर्ष छ ।

तर, राजनीति जतिवेला पनि ‘यूटर्न’ हुने भएकाले सर्वोच्च अदालतको फैसलापछि के होला भन्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्