काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसालाका लागि सर्वोच्च अदालतले तयारी थालेको छ । आज हेर्दाहेर्दैमा पेसी तोकिएको छ भने एक–दुई दिनभित्रमा फैसला गर्ने तयारीमा सर्वोच्च अदालत रहेको छ ।
माघ ४ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ वटा रिटमा बहस सुनेको थियो । बहस सकिएपछि
रिटका पक्ष, विपक्ष र एमिकस क्युरी वकिलहरुको बहस नोट पेस गर्न सोमबारसम्मको समय सीमा दिइएको थियो ।
सर्वोच्चले अब प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा फैसला सुनाउने तयारी गरेको छ । अदालत स्रोतका अनुसार अब बिहीबारभित्रमै फैसला आउने छ । सर्वोच्चले संसद विघटनलाई सदर गरिदिन्छ कि बदर भन्नेमा सर्वत्र चासो छ ।
पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । योसँगै आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए ।
विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए । संसद विघटनको कदमलगत्तै सत्तारुढ नेकपासमेत दुई खेमामा विभाजित भएको छ ।