काठमाडौं । राजनीतिक संकटका बेला प्रधानमन्त्री केपी शर्मा आलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला आउँनै लागेका बेला सुरक्षा परिषद् बैठक बोलाइनुलाई विशेष चासोका साथ हेरिएको छ ।
स्रोतका अनुसार अबको परिस्थितिलाई ध्यानमा राखेर सुरक्षा परिषद् बैठक बोलाइएको हो । रक्षा मन्त्रालयले भने नियमित बैठक भएको जनाएको छ । राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी सिफारिस गर्न पनि परिषद्को बैठक बस्नुपर्छ ।
देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ । यसअघि गत कात्तिक ५ गते परिषद्को बैठक बसेको थियो । सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।
सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ ।