झापा विद्रोह पञ्चायती निरंकुश राजतन्त्रविरुद्ध आरम्भ गरिएको थियो । शोषक, सामन्त, जमिनदारविरुद्ध झापा विद्रोह केन्द्रित थियो । झापा विद्रोहका क्रममा ज्यानको आहुती दिएका शहीदहरूकै बलिदानको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।
आजको गणतन्त्र त्यसैको उपलब्धि हो । तर, वर्तमान नेतृत्वले शहीदको बलिदानी नै अपमान गर्ने गतिविधि गरिरहेका छन् । नेतृत्वमा गलत प्रवृत्ति हावी भएको छ । नेतृत्वमा सामन्ती प्रवृत्ति देखिनु शहीदहरूले देखाएको बाटो र देखेको सपना विपरित छ ।
असंवैधानिक कदम शहीदको अपमान
केपी शर्मा ओली झापा विद्रोहका एक नायक हुन् । उनी अहिले देशकै अभिभावकको जिम्मेवारीमा छन् । तर, उनको पछिल्लो गतिविधिले हामी छक्क परेका छाँैँ । अदालतदेखि लिएर सबै वकिलहरूको कुरा सुन्दा उनले असंवैधानिक काम गरे । सारा देश ओलीले गलत गरे भनिरहेको भएपनि उनले अझै गल्ती भयो भनेर ‘रियालाइज’ गरेका छैनन् ।
‘मैले गरेको सबै कुरा ठिक’ भन्ने त हुँदैन नि । बेठीक भयो भने त अरुको सुझाव पनि लिनुपर्ने हुन्छ । यो ओलीमा रहेको पुरानो प्रवृत्ति हो । तर, जिम्मेवार ठाउँमा पुगेपछि चाहिँ अभिभावकत्व भूमिकामा रहनु पर्ने हो त्यो हुन सकेन ।
आफ्नो प्रिय व्यक्ति गुमाउनुपर्दा दुःख, पीडा त स्वभाविक हुन्छ । तर, पनि उहाँले देशका लागि गर्नु भएको बलिदानबाट चित्त बुझाउन सकिन्छ, त्यसरी नै चित्त बुझाएँ । चित्त बुझाउन सक्नु पनि पर्छ । तर, अहिले नेतृत्वले यो किसिमको गतिविधि गर्दा चाहिँ त्यो पहिलेको पीडाले सताउँछ ।
वर्तमान व्यवस्था शहीदहरूको बलिदानको प्रतिफल हो । यी सबै बलिदानहरूलाई समाप्त पार्ने योजनासहित ओलीले जे कदम चाले, त्यो शहीदहरूले देखेको सपना विपरित छ । यसले सम्पूर्ण बलिदानको अपमान गर्छ ।
यस्तो परिस्थिति कसरी बन्यो ?
नेतृत्वप्रति विश्वास गरेर हजारौँ कार्यकर्ता कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । तर, नेतृत्वले गलत बाटो लिएपछि कम्युनिष्ट आन्दोलन नै संकटमा परेको हो । हिजो कम्युनिष्ट नेतृत्वमा जुन अनुशासन थियो, जस्तो वैचारिक स्पष्टता थियो, जस्तो कम्युनिष्ट आँचरण थियो, आज छैन ।
नेतृत्वमै वैचारिक तथा साँस्कृतिक विचलन आएपछि आज कम्युनिष्ट आन्दोलन नै धरमरको अवस्थामा पुगेको छ । नेतृत्वले गलत बाटो लिएपछि हजारौँ कार्यकर्ता र लाखाँै जनताले दुःख पाएका छन् । कार्यकर्ता दास बन्नुपर्ने परिस्थिति बनेको छ ।
कार्यकर्ता जनतालाई राम्रो होस् भनेर आन्दोलनमा जुटेका हुन् । तर, यी कुरा नेतृत्वले नै बुझेनन् । आजको अवस्था त्यसैको परिणाम हो ।
कम्युनिष्ट आन्दोलनलाई जोगाउन
वर्तमान नेतृत्वबाट कम्युनिष्ट आन्दोलनलाई धोका भयो । पछिल्लो पुस्तालाई सही बाटो देखाउने काम नेतृत्वकै हो । तर, त्यस्तो भएन । युवाले बुझेकै होलान् । अब युवा पुस्ताले केही गर्लान् ।
हिजोको दिनमा पनि केशरजंग रायमाझीलगायतले कम्युनिष्ट आन्दोलन सिध्याउन खोजेकै हुन् । तर, गलत प्रवृत्तिविरुद्ध भएको संघर्षले कम्युनिष्ट आन्दोलन बच्यो । आज पनि गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने दिन आएको छ ।
कम्युनिष्ट पार्टीमा यस्तो उतारचढाव आउँछ । हिजो माले र एमालेको रुपमा विभाजन हुँदा पनि कार्यकर्ता चिन्तित थिए । पछि एकता गर्नुपर्छ भनेर कुरा गर्दा, कार्यकर्ताले दबाब दिँदा उनीहरूले वास्तै गरेनन् । एकताका लागि भएका गतिविधिमा सहभागी पनि भएनन् ।
आज तिनै व्यक्ति पार्टी एकता विपरित लागेका छन् । कम्युनिष्ट विभाजनमा जित देख्नेहरू आज खुसी भएका होलान् । यो कम्युनिष्ट आन्दोलन र देशका लागि राम्रो होइन । नेतृत्वमा आमूल परिवर्तन नभएसम्म कम्युनिष्ट आन्दोलन सही दिशामा अगाडि बढ्न सक्दैन ।
सडकमा हुँदासम्म क्रान्तिकारी हुने सत्तामा पुगेपछि क्रुर शासक बन्ने प्रवृत्ति गलत छ । कम्युनिष्ट पार्टीले अवसर नपाएका होइनन् । तर, सत्तामा पुगेपछि आफ्नो वर्ग नै विर्सेर राजामहाराजा बन्ने प्रवृत्ति मुख्य समस्या हो । कम्युनिष्ट नेतृत्व र जनताबीच नङ्–मासुजस्तै सम्बन्ध हुनुपर्छ भन्ने मान्यता विपरित हुँदै आएका गतिविधि अन्त्य हुनुपर्छ । कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेतृत्वमा बन्ने सरकारले बहुसंख्यक श्रमजीवि वर्गको पक्षमा काम गर्नुपर्छ अनि मात्र कम्युनिष्ट आन्दोलन सही दिशामा अगाडि बढ्न सक्छ ।
ओली सच्चिए एकता सम्भव
पञ्चायत ढल्यो, राजतन्त्रको अन्त्य भयो । गणतन्त्रको स्थापना भइसकेपछि त नेतृत्वले विचार दिनेहरूलाई सम्मान गनुपर्ने हो । तर, केपी ओली जस्ता नेतृत्व दम्भ देखाएर मात्रै अगाडि बढिरहेका छन् ।
माओवादी कमरेडहरू युद्धबाट आएका भएपनि अहिले एकता भएको छ । त्यहि एकताको बलले बहुमत पनि आयो । तर, बहुमतले पार्टी फुटाउने भनेको चाहिँ एकदमै नकारात्मक हो । यसले पार्टी विभाजनको संघारमा पुगेको छ । भविष्य सोच्ने हो भने सधैं एकता खाँचो छ । केपी ओली सच्चिनुपर्छ, एकतामा फर्कनुपर्छ ।
अझैपनि गल्ती स्वीकारेर आउन सक्छन् । अब उनलाई पार्टीले फूलपातीले पूजा गरेर ल्याउन त सक्दैन । तर, आफ्ना संवैधानिक गल्तीहरू सच्याएर आउँदा पार्टी एकता जोगिन्छ ।
सम्झनामा श्रीमान
मैले राजनीतिको ज्ञान उहाँ (सुखानीका शहीद नेत्र घिमिरे)बाटै पाएको हुँ । ‘अब देश र जनताको निम्ति राज्यसँग लड्दा जसले पनि ज्यान गुमाउन सक्छन् । परिवारबाट टाढा हुन सक्छौँ’ उहाँले पहिला नै भन्ने गर्नुहुन्थ्यो ।
आफ्नो प्रियमान्छे गुमाउनुपर्दा दुःख त लाग्छ नै । तर पनि, मलाई जसले एउटा भविष्यको बाटो देखाइदिनुभयो, उहाँहरूले नेपाली जनताको लागि योगदान गर्नुभयो । उहाँले घरिघरि भन्नु हुन्थ्यो, ‘देश र जनताको लागि लड्दा हामी मर्न पनि सक्छौँ ।
तर दश वर्षपछि चाहिँ परिवर्तन आउँछ ।’ पछि पञ्चायत ढलेको दिन उहाँको यो कुरा खुब याद आयो । आफ्नो प्रिय व्यक्ति गुमाउनुपर्दा दुःख, पीडा त स्वभाविक हुन्छ । तर पनि उहाँले देशका लागि गर्नु भएको बलिदानबाट चित्त बुझाउन सकिन्छ, त्यसरी नै चित्त बुझाएँ । चित्त बुझाउन सक्नु पनि पर्छ । तर, अहिले नेतृत्वले यो किसिमको गतिविधि गर्दाचाहिँ त्यो पहिलेको पीडाले सताउँछ ।
(झापा विद्रोहका क्रममा २०२९ साल फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा हत्या गरिएका शहीद नेत्र घिमिरेका श्रीमती जीवनकुमारी घिमिरेसँग दृष्टिकर्मी नविन राईले गरेको कुराकानीमा आधारित । उनी सभासद्समेत हुन् ।)