सन् २०१९ अप्रिल महिना । होटल सोल्टीमा बडो उत्साहका साथ चिनियाँ प्रतिनिधिमण्डल नेपाल र चीनबीच व्यापार, पारवहन सन्धिका लागि उपस्थित थिए ।
नेपाली प्रतिनिधिमण्डलसँग चिनियाँहरुले चार/पाँच घण्टा उत्साहपूर्वक छलफल गरे । वार्ता निष्कर्षमा पुग्न सकेन । सन्धि नै नहुने हो कि भन्ने चिन्ता नेपाली प्रतिनिधिमण्डललाई थियो । सुरुमा उत्साहपूर्वक वार्तामा सहभागी भएका चिनियाँ प्रतिनिधिमण्डल घाम डुब्दै गर्दा आक्रोशित देखिन्थे । उनीहरुको अनुहारमा पनि एक प्रकारको चिन्ता थियो । रातको १२ बज्यो । चिनियाँ प्रतिनिधिमण्डल त्यो सन्धिमा हस्ताक्षर गर्न तयार भएनन् ।
चिनियाँ पक्ष हस्ताक्षर गर्न तयार नभएपछि नेपाली प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घटनाको जानकारी दिए । प्रधानमन्त्री ओली पनि रातको १२ बजे तनावमा परे । ओलीले दुई/चार ठाउँ फोन घुमाए । फोनमा आफ्नो बाध्यता बुझिदिन आग्रह गरे । लगत्तै, उत्साहपूर्वक चिनियाँ प्रतिनिधिमण्डल वार्ताको टेबुलमा आए । दुई देशबीच ऐतिहासिक व्यापार पारवहन सन्धि भयो ।
दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको कार्यकालमा भएको नेपालको लागि यो ठूलो उपलब्धि हो । तर, चिनियाँ पक्षसँग भएको शर्त प्रधानमन्त्री ओलीले पूरा नगर्दा आजसम्म त्यो व्यापार–पारवहन सन्धि कार्यान्वयन हुनसकेको छैन ।
होटल सोल्टीमा मध्यरातसम्म चिनियाँ पक्षसँग ‘लफडा’ हुनुको मुख्य कारण चीनले नेपालले मागेजति पाँचवटा पोर्ट र ड्राइपोर्ट दियो । चीनले मागेको वीरगञ्ज र सुनौली नाका नेपालले दिन मानेनन् । प्रधानमन्त्री ओलीले आफू पाँच वर्षसम्म प्रधानमन्त्री हुने भएकोले पाँच वर्षभित्र छुट्टै ‘ट्रान्जिट ट्रिटी’मा सम्झौता गर्ने भनेर चिनियाँ पक्षलाई आश्वस्त पारेका थिए । त्यो ‘ट्रिटी’मा नेपालले हस्ताक्षर नगर्दा महान् उपलब्धि गुम्न पुगेको छ ।
त्यतिबेला प्रधानमन्त्री ओलीलाई ‘ट्रान्जिट ट्रिटी’मा हस्ताक्षर गर्न कसले रोकेको थियो, थाहा भएन । यदि, ट्रान्जिट ट्रिटीमा हस्ताक्षर भएको भए अहिलेसम्म त्यो सन्धि कार्यान्वयनमा आइसक्थ्यो ।
यो कुरा मेरो कानमा पुग्नासाथ मैले प्रधानमन्त्री कार्यालयमै पुगेर ओलीलाई भेटे । घटनाको सबै विवरण सुनाए । र, भने- मध्यरातमा तपाईंले चिनियाँ पक्षलाई दिएको आश्वासन मेरो कानसम्म कसरी आइपुग्यो ? बालुवाटारबाट सूचना चुहिएको छ । राम्रो कुरा होइन, विचार गर्नोस् भने ।
त्यसपछि ओलीले गम्भीर मुद्रामा त्यो सूचना चुहाउने व्यक्ति को होला भनेर प्रश्न गरे । मैले भने, मध्यरातसम्म तपाईंको वरपर जो-जो बस्छन्, तिनीहरुले नै यो सूचना चुहाएको हो । मेरो कुरा सुनेर ओली एकक्षण टोलाए । र, भने- ट्रान्सपोर्ट एग्रिमेन्ट पनि गर्छु । चीनसँग भएका सबै सहमति कार्यान्वयन गर्छु ।
यो घटना ओलीलाई सामान्य जस्तो लागे पनि गम्भीर कुरा थियो । त्यसपछि उनले सिंगो सल्लाहकार टिमलाई हटाए । यो सबै सूचना त तिनै सल्लाहकारहरुसँग थियो, थप सूचना चुहिने डरले केही हटे, केहीलाई फेरि थमौती गर्न ओली बाध्य भए ।
थमौती भएका सल्लाहकारहरु भारतीय खुफिया एजेन्टसँग निरन्तर सम्पर्कमा थिए । ‘रअ’ प्रमुख ‘लकडाउन’का बीच ६ महिनादेखि बालुवाटारसँग समय माग्दै थिए । प्रधानमन्त्री ओली ‘रअ’ प्रमुखसँग भेट्ने मुडमा थिएनन् ।
त्यसबीच नागरिकता विवाद, चुच्चे नक्सा र ‘सिंह मेव जयते’का कारण भारतीय पक्ष ओलीसँग आगो थिए । अन्ततः बालुवाटारबाट जसले ‘रअ’का प्रमुखलाई कात्तिक ४ गते निम्तो दिए, तिनै सल्लाहकारको कारण ओली सत्ताबाट बहिर्गमन हुनुपर्यो । ओली बहिर्गमनको चुरो कुरा यही नै हो ।
(समाप्त)
(आलेखमा प्रयोग भएको पूर्व प्रधानमन्त्री ओलीको तस्वीर सेतोपाटीबाट साभार गरिएको हो ।)