Logo
Logo

मिटर ब्याजको जालो : गुन्डादेखि पुलिससम्म


दृष्टि संवाददाता

835.6k
Shares

काठमाडौं । नेपाल प्रहरीले पहिलोपटक मिटर ब्याजसम्बन्धि अपराधको अनुसन्धान गरिरहेको छ । वर्षाैदेखि मिटरब्याजको धन्दा चलाएर करोडपति भएका गणेश उप्रेतीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

उनले एक करोड ऋण दिएर एक दिनमै एक लाख रुपैयाँसम्म ब्याज असुलेको प्रहरीले जनाएको छ । दुई सातायता प्रहरी हिरासतमा रहेका उप्रेतीविरुद्ध प्रहरीले ठगी र अपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढाएको छ । उप्रेतीले धम्क्याएर पैसा असुल्ने गरेको उजुरीका आधारमा उनीविरुद्ध अपराधिक लाभ मुद्दा आकर्षित भएको हो । हालसम्म चार जनाले उनीविरुद्ध उजुरी दिएका छन् ।

पक्राउ परेका उप्रेतीले गाडि रिकन्डिसन हाउसको आवरणमा यस्तो धन्दा गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनीसँग १९ करोड रुपैयाँ बराबरको चेक बरामद गरेको छ । ब्युरोका डिआइजी धिरज प्रताप सिंहका अनुसार उप्रेतीले बैंकको ब्याज तिर्न नसकेर समस्यामा परेकाहरूलाई ऋण दिएर धम्काई चर्को ब्याज असुल्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो । उप्रेतीले ऋण दिएर चर्को ब्याज असुलेको भन्दै प्रकाश कार्की र हेमरा गुभाजु लगायतले उजुरी दिएका छन् ।

उप्रेतीले प्रकाश कार्कीबाट पटक–पटक गरी चार करोड सोह्र लाख रकमको चेक र हेमराज गुभाजुबाट चार करोड चौध लाख रकमको चेक लिएको जाहेरीमा उल्लेख छ । अर्का एक व्यक्तिले १४ करोड रुपैयाँको जाहेरी दिएका छन् ।

उप्रेतीले रकम नदिएमा डर त्रास देखाई धम्की दिएर बाहिर हिँडडुल, घुमफिर गर्न बन्देज गराई आपराधिक गिरोह समेतको प्रयोग गरेर ज्यान मार्छु भन्दै ठगी गरेको ब्यूरोको दाबी छ ।

उप्रेतीको रिकन्डिसन व्यवसाय देखिए पनि चर्काे ब्याज असुली नै उनको प्रमुख धन्दा भएको डिआइजी सिंह बताउँछन् । घरायसी र व्यवसायीक समस्यामा परेकाहरूलाई ऋण दिएर ठुलो परिणामको चेकमा हस्ताक्षर गर्न लगाउने र गुन्डाहरू लगाएर असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको सिंहले दाबी गरे । उनको केही प्रहरी अधिकारीसँग समेत दोस्ती देखिएको छ ।

उप्रेतीले कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएर राष्ट्रिय वाणिज्य बैङ्कको ४ करोड १६ लाख रुपैयाँको चेक लिएका थिए । गुभाजूलाई १ करोड ५४ लाख रुपैयाँ दिएर ४ करोड १४ लाखको चेक लिएका थिए । चेक नसाटिएपछि गुन्डा लगाएर मार्ने धम्की दिएको उनीहरुको दाबी छ ।
‘उप्रेतीले एक करोड ऋण दिएर दैनिक एक लाखसम्म ब्याज लिने गरेको देखियो,’ सिंहले भने’ डेढ करोड ऋण लिएकोसँग चार करोडसम्म असुल्ने गरेको देखिएपछि हामीले यसमा अनुसन्धान थालेका हौं ।’

भित्रभित्र फस्टाएको डरलाग्दो धन्दा
नेपालमा मिटर ब्याज पुरानै धन्दा हो । समाजमा यो धन्दा डरलाग्दो रुपमा भित्रभित्रै बढेको प्रहरी अधिकारीहरु बताउँछन् । विदेश जानेदेखि जुवा खेल्नसमेत मिटर ब्याजमा लगानी हुने गरेको छ ।

यस अगाडि क्यासिनोमा नेपालीको प्रवेश खुल्ला हुँदा मिटर ब्याजीहरु सक्रिय थिए । त्यो बेला बलराम सापकोटा, महेशबहादुर सिंह, वीरेन्द्र श्रेष्ठहरू मिटर ब्याजीका कारण चर्चामा थिए । उनीहरु सबैलाई प्रहरीको साथ थियो । उनीहरुमध्ये सिंहलाई तत्कालिन एसएसपी रमेश खरेलले पक्राउ गरेका थिए । उनको घरमा सातवटा बन्दुकसमेत भेटिएको थियो । त्यही बन्दुक देखाएर उनले धम्काई ब्याज असुल्ने गरेको समेत अनुसन्धानमा खुलेको थियो । तर, उनको सम्पत्तिमाथि थप छानबिन भएन । सापकोटामाथि भने सम्पत्ति शुद्धीकरणले मुद्दा दायर गरेको छ ।

तराईमा चर्को ब्याज
दुई वर्षअघि तराईका जिल्लामा मिटर ब्याजी अर्थात् साहुकरहरुको शोषण देखियो । रामबाबु राय यादव श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवार, सञ्जयप्रसाद रौनियार लगायतलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । उनीहरुले विपन्नमाथि चर्काे ब्याजमा ऋण दिएर घर जग्गा नै खाइदिने गरेका थिए । तराईमा गाउँ गाउँमा यस्ता साहुकर छन् । जसमध्ये धेरै जसो राजनीतिमा लागेका छन् । वैदेशिक रोजगारीमा जानेहरुलाई उनीहरुले चर्के ब्याजमा पैसा लगाउने गरेका छन् ।

गुडविलको धन्दा
ललितपुरको गुडविल बचत तथा ऋण सहकारीको ठगीको अनुसन्धानमा पनि मिटर ब्याजको धन्दा बाहिर आयो । अध्यक्ष दिवाकर श्रेष्ठ, उनको श्रीमती जेनी श्रेष्ठ, भान्जा रमण श्रेष्ठ मिलेर बचतकर्ताको ७९ करोड ८९ लाख रकम हिनामिनामा समेत मिटर ब्याजको प्रभावमा खुलेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले सहकारीका सञ्चालकसहित मिटर ब्याजीहरुलाई समेत प्रतिवादी बनाएको थियो ।

‘सहकारीका अध्यक्ष श्रेष्ठले मिटर ब्याजमा पैसा लिएर ब्याज तिरेर बचतकर्ताको बचत दुरुपयोग गरेको खुलेको थियो,’ एसएसपी किरण बज्राचार्यले भनिन्’ त्यसमा केही मिटर ब्याजीसमेत संलग्न देखिएपछि उनीहरूलाई समेत प्रतिवादी बनाएका थियौँ ।’ कतिपय मिटर ब्याजीले ब्याजलाई पनि साँवामा जोडेर पैसा असुल्ने गरेको देखिन्न्छ ।

मिटर ब्याजकै कारण आत्महत्या, अपहरण जस्ता अन्य अपराधसमेत बढेको प्रहरी अधिकारीहरु बताउँछन् । मिटर ब्याजको पैसा तिर्न नसकेर केही वर्षाैदेखि बेपत्ता भएका छन् । कतिपय ठाउँमा अपहरण र हत्याका घटना भएका छन् । डेढ वर्षअघि थानकोटाका विनय लामिछानेले दुई नाबालक र श्रीमतीसहित त्रिशुलीमा हाम फालेको घटनाको अनुसन्धान गर्दा मिटर ब्याज कारण देखिएको थियो ।

सम्पत्ति शुद्धीकरणमा सेटिङ
नेपालमा बैंक तथा सहकारीबाट ऋण लिन गाह्रो छ । धितो बिना कर्जा प्रवाह हुँदैन । पाए पनि थोरै मात्र दिन्छन् । यसको प्रक्रिया पनि लामो हुने गरेको छ ।

जसकारण सर्वसाधरण मिटर ब्याजमा पैसा लिन बाध्य हुने गरेको छ । त्यही ऋणले नै कतिपय घर न घाटका भएका छन् । नेपालमा व्यक्तिले यसरी ऋण लगाउन पाउने कानुनी व्यवस्था छैन । त्यसमा कस्तो कारबाही हुने भन्ने पनि प्रष्ट छैन । जसकारण यस्ता विषयमा प्रहरीमा कमै उजुरी पर्छन् ।

यससम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न पाउँछ । तर, विभागमा अनुसन्धान भन्दा धेरै सेटिङ हुने गरेका कारण यस्ता अपराधिक गतिविधिमा संलग्नहरु उत्साहित हुने गरेका छन् । हालै पक्राउ परेका उप्रेतीलाई पनि सिआइबीले मुद्दा चलाइसकेपछि सम्पत्ति शुद्धीकरणमा पठाउने तयारी गरेको छ ।

गुन्डादेखि पुलिससम्म
मिटरब्याजको धन्दामा गुन्डादेखि प्रहरी अधिकारीसम्म संलग्न छन् । कतिपय गुन्डा नाइकेहरु मिटरब्याजकै कारण करोडपति बनेका छन् । क्यासिनो किङका नामले चिनिने बलराम सापकोटा मिटर ब्याजबाटै करोडपति बनेको प्रहरी अधिकारीहरु बताउँछन् । अन्य कतिपय गुन्डा नाइकेहरु समेत यस्तै धन्दामा अवद्ध छन् ।

अझ रमाइलो त के छ भने यस्तो धन्दामा प्रहरी अधिकारीहरुले भ्रष्टाचार गरेर कमाएको ठूलो रकम लगानी छ । पूर्व डिआइजी त हालका सांसद नवराज सिलवाल मिटर ब्याजमै धेरै पैसा लगाउँदा विवादमा तानिए । सिन्धुपाल्चोकका गुनबहादुर थापाको जग्गा बन्धक राखेर उनले मिटर ब्याजमा पैसा लगाएको खुल्यो । पूर्व एआइजी हेमन्त पालको पनि मिटर ब्याजमा लाखौं डुबेको छ ।

पूर्व एआईजी कल्याण तिमल्सिना लगायतले काभ्रेका वीरेन्द्र श्रेष्ठमार्फत यस्तो लगानी गर्दथे । श्रेष्ठ अहिले पनि यो धन्दामै सक्रिय छन् । आफुलाई स्वच्छ छवीको भन्ने अन्य धेरै प्रहरी अधिकारीहरु मिटर ब्याजको धन्दामा लागेको प्रहरी स्रोत बताउँछ । ‘यदि हाकिमहरुको संरक्षण नहुने हो भने धेरै मिटरब्याजीहरुको धन्दा रोकिन्छ’ एक प्रहरी अधिकारी भन्छन्,‘यस्ता गिरोह संगठित छन् ।’

प्रतिक्रिया दिनुहोस्