काठमाडौं । प्रदेश १ का १० अस्पतालका लागि ५० करोड २६ लाख ९१ हजार बजेट छुट्याइएकामा धनकुटा, खोटाङ र सोलुखुम्बुले प्रक्रिया नै अघि बढाउन सकेनन् ।
कोसी अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जडान गर्न ६ करोड ८० लाख बजेटका लागि अर्थ मन्त्रालयले जेठ २ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो । जसमध्ये ८० लाख लागतमा अक्सिजन ट्यांक खरिदका लागि दुईपटक अस्पतालले ठेक्का आह्वान गर्यो तर आवेदन नपरेको भन्दै खरिद प्रक्रिया रोकिएको छ ।
प्रदेश २ को गजेन्द्रनारायण सिंह अस्पतालमा प्लान्ट राख्न टेन्डर भइसक्यो तर उपकरण राख्ने ठाउँ छैन । प्लान्टका लागि भवन निर्माण अन्तिम अवस्थामा पुगेको मेडिकल सुपरिन्टेन्डेन्ट रञ्जित झाले बताए ।
वाग्मती प्रदेशको रामेछाप अस्पतालमा पनि भवन अभावमा प्लान्ट राख्न सकिएको छैन । सरकारले असार महिनाभित्रै प्लान्ट सञ्चालनमा ल्याउन अस्पताललाई ७५ लाख विनियोजन गरेको थियो ।
ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य मन्त्रालय र ललितपुर महानगरपालिकाले बजेट विनियोजन गरे पनि अक्सिजन प्लान्ट जडान हुने टुंगो छैन । पुरानो निकालेर नयाँ प्लान्ट जडान गर्नुपर्ने भएकाले समय लागेको अस्पतालका निर्देशक डा। रवि शाक्यले बताए । यहाँ मन्त्रालय र महानगरको ३ करोड बजेटमा प्लान्ट जडान हुँदै छ ।
अर्थ मन्त्रालयले जेठ ४ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर अक्सिजन प्लान्ट विस्तारका लागि स्याङ्जा अस्पताललाई डेढ करोड रुपैयाँ सुनिश्चित गर्यो । तर अहिलेसम्म काम हुन सकेको छैन । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले प्लान्टका लागि गत असार १५ मा आरोग्य मेडिटेकसँग सम्झौता गरेको बताए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।