काठमाडौँ । गीत र ट्रेलर हलमा बज्न सुरु भइसकेको थियो । प्रतिक्रियाबाट ‘म यस्तो गीत गाउँछु-२’ का सिनेकर्मी निकै हौसिएका थिए ।
२०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएपछि ढुक्क भएको निर्माण समूहले सेन्सर र प्रचारप्रसारको काम पूरा गरेको थियो । तीन दिन बाँकी हुँदा सरकारले सिनेमा हलहरू बन्द गर्न निर्देशन दियो । त्यसपछि यो फिल्मले अझैसम्म प्रदर्शनको पालो पाएको छैन ।
निर्माता अर्जुन कुमारको ‘चपली हाइट–३’ चैत २८ मा प्रदर्शनको तयारीमा थियो । यही मितिमा सन्तोष सेनको ‘प्रेमगीत–३’ आउने तयारी थियो । तर चैत ११ देखि लकडाउन घोषणा भयो । यी दुई निर्माताले पनि फिल्मको प्रदर्शन सार्नुपर्यो ।
कोरोना महामारीको असर यी दुई फिल्मलाई मात्रै परेको होइन । प्रदर्शनका लागि तयार ‘लक्का जवान,’ ‘हिजोआजका कुरा,’ ‘सुस्केरा,’ ‘नीरफूल,’ ‘माइकल अधिकारी,’ ‘षट्कोण,’ ‘आकाशे खेती’ लगायत दर्जनभन्दा बढी फिल्मका निर्माता अझै अलमलमा छन् ।
यी फिल्ममा गरेको लगानी फ्रिज भएको छ । वर्षमा सयभन्दा बढी फिल्म प्रदर्शन हुने यस क्षेत्रमा लामो समयदेखि शून्यता छ । २०७६ अन्तिममा कोरोना संक्रमण देखा पर्न सुरु भयो ।
उक्त वर्ष महामारीअघि ५५ वटा नेपाली फिल्म प्रदर्शनमा आएका थिए । २०७७ मा ७१ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत मागेका थिए ।
बोर्डको फिल्म निर्माण शाखाका अनुसार २०७८ असार २३ सम्ममा ८ फिल्म दर्ता भएका छन् । यसबीच निषेधाज्ञा खुकुलो हुँदा केही फिल्म निर्माण पनि भए । तर ती सबैको प्रदर्शन अझै अनिश्चित छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।