काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक आज बिहान एघार बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बोलाइएको छ ।
बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । केपी ओली पक्षले भने बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ ।