बाजुरा । बुढीगंगा नगरपालिका १ अम्कोटका ११३ परिवार पहिरोको उच्च जोखिमका छन् । पानी परेको दिन गाउँका सबै एकै ठाउँमा जम्मा भएर रातभरी जागाराम बस्छन् भने पानी नपरेको दिनमात्र सुत्छन् ।
अम्कोट पहिरोले उनीहरुको कमाइ खाने जग्गा धेरैजसो बगाइसकेको छ भने बचेको पनि चिरा चिरा भएको छ । घरका ढोका राम्रोसँग मिल्दैनन् । खानेपानीका मुहान पुरिएका छन् । विजुली बत्ति छैन । उनीहरु अँध्यारोमा बस्न बाध्य छन् । यति समस्या हुँदा समेत सरोकार राख्ने निकाय मौन रहेको भन्दै उनीहरुले दुखेसो पोखेका छन् ।
बुढीगंगा नगरपालिका १ अम्कोटकी राजुदेवी उपाध्यायको परिवार बढीजसो भारतमै हुन्थे । तर, कोरोनाका कारण घरमा आएको दुई वर्ष भयो । साथमा ५ छोरी छन् । श्रीमान् मजदुरीको सिलसिलामा भारतमै छन् । छोरी र आफु मरेपनि १ छोरालाई अम्कोटको पहिरोबाट बचाउन मावली घरमा राखिएको उनको भनाइ छ ।
उनको दैनिकि अम्कोट पहिरोले बचाएको धान काट्दै बितिरहेको छ । उनले भनिन् ‘हाम्रो गाउँका ११३ परिवार बर्खामा सधैँ अनिँदो बस्छौँ । स्थानीय गाउँ छाडेर अन्त जाउँ भने कहाँ जाउँ ? बस्ती जोखिममा छ बचाइदिनुप¥यो भन्दा सरकार सुन्दैन ।’ उनले गाउँमा रातीको समयमा पालैपालो पहिरोको पहरा दिने र दिनमा पहिरोले बाँचेको धान काट्दै गोरुलाई खवाउने गरेको बताइन् ।
उपाध्यायको जस्तै निर्मला खत्रीको पनि बढीजसो बसाइ भारतमै हुन्थ्यो । कोरोनाकै कारण घर आउनु पर्यो । घर आउनेवित्तिकै उनले आफ्नो बाँझो खेतमा काम गर्न सुरु गरिन् । आएकै वर्ष उनको सबै खेती अम्कोटको पहिरोले बगाइदियो । त्यसपछि अहिले ज्यानको सुरक्षा गरिदिन सबै ठाउँ धाउँदासमेत सुनुवाइ नभएको उनको भनाइ छ ।
पहिरोको त्रास यो वर्ष मात्र होइन, अम्कोटमा पहिरो बग्न थालेको साफेमार्तडी सडक खण्ड निर्माण गर्दादेखि नै हो । तर, यो वर्ष सडकभन्दा माथि घरसम्मै पुगेको छ । अम्कोटकै हिरा उपाध्यायको घर पोहोरकै बर्खामा पहिरोले बग्यो । ‘पोहोर त तीन महिनासम्म ताल परेको हो । ताल फुटेर सडक र पुलहरू बगाएको थियो । यो वर्ष पहिरो आँखाले हेर्न नभ्याइने गरी फैलिइसक्यो’ उनले भने । यति हुँदा पनि पुर्नस्थापना गर्छौ भन्ने आश्वासन दिइएको थियो तर आजसम्म माग पूरा भएको छैन । ‘मान्छे नमर्दासम्म कसैले वास्ता गर्दैनन् । हामी मरेपछि हल्लाखल्ला गरेको के काम ?’ उपाध्यायले प्रश्न गरे ।
अम्कोटबासीलाई मात्र सास्ती छैन । त्यो ठाउँ भएर आवत–जावत गर्ने यात्रुलाई झनै जोखिम छ । उनीहरु जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ । साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको दुई महिना भइसक्यो । यातायातका साधन अम्कोटमा ठप्प छन् । चलेको केही साना सवारी साधन पनि ठाउँ ठाउँमा मनलाग्दो भाडा असुल्ने गरेको सोही नगरपालिकाका मिना विकले बताइन् ।
अम्कोटका ११३ घरधुरीका लागि पुनः निर्माणको लागि भनेर खातामा पैसा आएको छ । तर, त्यहाँको बस्ती नै सार्नुपर्ने हुँदा पैसा अपुग छ । जग्गा खरीदका लागि पैसा आएको छैन, ठाउँ सार्न खोजिएको हो । त्यहाँ पुर्नस्थापना गर्नुपर्ने छ । घर निर्माणका लागि ५ लाख, अस्थाई घर निर्माणका लागि ५० हजार जग्गा खरिदका लागि ३ लाख गरी जम्मा ८ लाख ५० हजार हुनुपर्नेमा घर पुननिर्माण लागि ५ लाख मात्र खातामा आएकाले पक्रिया पुर्याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।
पैमामा पहिरो झर्न थालेको नौ वर्ष भयो । पहिरोमा बूढीगंगा नदीको वारि अम्कोट र पारि पैमा गाउँतर्फ झन्डै १४ हेक्टर जमिन परिसकेको छ । स्थानीयका अनुसार यी दुई गाउँमा मात्रै तीन सयभन्दा बढी परिवारको बसोबास छ । पहिरोले बडिमालिका नगरपालिकाको अम्कोट र त्रिवेणी नगरपालिकाको पैमा गाउँसम्मै चिरा पारिसकेको छ ।
यहाँ सुक्खायाममा समेत पहिरो खस्ने गरेको छ । जब भयानक आवाजसहित पहिरो खस्छ, पैमा र अम्कोटका स्थानीयको दिनरात त्रासदीमा बित्छ । साँफे–मार्तडी सडक खण्डको बार्जुगाडदेखि मार्तडीसम्म दर्जनौँ ठाउँमा पहिरो खसेको छ । अम्कोट र द्वारी क्षेत्रमा माथिबाट निरन्तर खस्ने पहिरो र तलबाट बूढीगंगाको कटानले पैदल आवागमन पनि जोखिमपूर्ण बन्दै गएको छ ।
निर्माण सकिएको दुई वर्ष नपुग्दै बाजुरा सडक क्षतविक्षत भएको हो । तीन वर्षअघि झन्डै ७० करोडको लागतमा निर्माण भएको सडक कतिपय ठाउँमा नामोनिशान मेटिएको छ । गएको वर्षामा ६ महिना सडक अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा समस्या भएको थियो । यो वर्ष पुरै झनै सडकमात्र होइन अम्कोट गाउँ नै पहिरोमा परिणत हुने अवस्थामा छ ।