Logo
Logo

वायुसेवा निगमका महाप्रबन्धकलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग


दृष्टि संवाददाता

2.9k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका ९ वटा कर्मचारी ट्रेड यूनियनले महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कर्मचारीहरूले निगमलाई कम्पनी मोडलमा नलैजान र महाप्रबन्धलाई बर्खास्त गर्न माग गरेका हुन् ।

९ वटा ट्रेड युनियनले प्रधानमन्त्रीलाई २०५० सालमा ल्याइएको निजीकरण ऐनका कारण ३० मध्ये १८ वटा सार्वजनिक संस्थान निजीकरणका कारण बन्द भइसकेको र ८ वटा जेनतेन चलिरहेको ज्ञापनमा उल्लेख गरेका छन् ।

उनीहरुले हवाइ माफियाको इसारामा निगमलाई कम्पनीकरण गर्न लागिएको भन्दै सरकारले यस्लाई लगानी बृद्धि गरेर राहत दिनुपर्ने माग राखेका छन् ।

त्यसैगरी निगमको संरचना बदल्ने प्रस्ताव पर्यटन मन्त्रालयमा बुझाउने महाप्रबन्धकलाई बर्खास्त गर्नुपर्ने, सञ्चालक समितिमा निगमसँग स्वार्थ बाझिने संस्थाबाट नियुक्त भएका बोर्ड सदस्यको नियुक्ति खारेज हुनुपर्ने पनि ज्ञापनमा माग राखिएको छ ।

केपी ओली सरकारले ल्याएको निगमको संरचना बदल्ने प्रस्ताव खारेज हुनुपर्नेलगायतका माग राखेर बालुवाटारमा ज्ञापन बुझाउन पुगेका ट्रेड युनियनकर्मीलाई प्रधानमन्त्री देउवाले उक्त विषयमा सल्लाह गर्ने बताएका थिए ।

यसअघि निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्न पर्यटन सम्बद्ध १४ प्रमुख संघ संस्थाहरुले प्रधानमन्त्री देउवा समक्ष संयुक्त ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले सरकार स्वामित्वको ध्वजाबाहकको विकासका लागि कम्पनी मोडलमा रुपान्तरण गर्नुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्