Logo
Logo

कोरोनाले ९,९९४ को मृत्यु


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । कोरोना संक्रमणबाट १४ महिनामा मुलुकभित्र झन्डै १० हजार जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म ७ लाख ७३ हजार ८ सय ६० जनालाई संक्रमण पुष्टि भएकामा ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ हजार ६ सय ४० जना पुरुष छन् ।

मृत्युदर १।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा १.४ रहेको छ । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६ हजार ९ सय ८० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाबाट मृत्यु हुनेमा ६० वर्षभन्दा माथिका ५ हजार ३ सय ७३ जना छन् । ‘पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेर समूहका वृद्धवृद्धाले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए,’ उनले भने । ९ वर्षभन्दा मुनिका ४५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुने दर पनि बालबालिकामा ८ प्रतिशत हाराहारी छ । बिहीबार देशभरका संक्रमितमध्ये ८।९६ प्रतिशत २० वर्षभन्दा कम उमेरका छन् । १० वर्षभन्दा मुनिका मात्रै ८७ जना संक्रमित भएका छन् । वैशाख २७ मा २० वर्ष मुनिका ८ प्रतिशत मात्र संक्रमित थिए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्