रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएप्रति प्रदेश सरकारले आपत्ति जनाएको छ । विपक्षी गठबन्धनको दाबाबमा विशेष अधिवेशन बोलाएको भन्दै प्रदेश सरकारले आपत्ति जनाएको हो ।
सरकारसँग कुनै सल्लाह नै नगरी विशेष अधिवेशन बोलाइनु गैरकानुनी भएको सत्तारुढ दल नेकपा एमालेको आरोप छ । अदालतमा विचाराधीन मुद्दाको किनारा लागेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी प्रदेश प्रमुखलाई गराएपनि विपक्षीको दवावमा एकलौटी ढंगले अगाडि बढेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाएका छन् । तर, यसैबेला प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेको जानकारी दिएको थियो ।
लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले सरकारविरुद्ध गत मंगलबार अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सरकारविरुद्ध विपक्षी गठबन्धनले बुझाएको अविश्वास प्रस्ताव यो तेस्रोपटक हो । यसअघि विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।