काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् ।
ठाकुर–महतो पक्षले शुक्रबार एकैदिन मधेसका चार जिल्लामा विस्तारित बैठक आयोजना गर्दैछ । जहाँ ठाकुर-महतो पक्षका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगबाट अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका लागि जिल्ला दौडाहामा लागेका हुन् ।
जसपा कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार बारा, सप्तरी, सिराहा र महोत्तरीमा आजै बिस्तारित बैठक राखिएको छ । बारामा जसपा नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सप्तरीमा वरिष्ठ नेता महतो, केशव झा, बृषेशचन्द्र लाल र राजिव झा, सिराहामा अनिल झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राईन तथा महोत्तरीमा अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बारा, सप्तरी, सिराहा र महोत्तरीको कार्यक्रम सम्पन्न भएसँगै शिर्ष नेता मधेसका अन्य जिल्लामा बिस्तारी बैठक, बिशेष सम्बोधनसहित संगठन निर्माण गर्दै अगाडि बढ्ने कार्यक्रम रहेको छ ।