Logo
Logo

‘महिनामा २ दिन, २ घण्टा मेरो राष्ट्रका लागि’ अभियान संचालन गर्दै युवा संघ


दृष्टि संवाददाता

10.6k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालले ‘महिनामा २ दिन, २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने स्वयं सेवकिय अभियान संचालन गर्ने भएको छ ।

संघको बबरमहल स्थित केन्द्रिय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष नरेश शाहीले युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले यो अभियान संचालन गर्न लागिएको बताए ।

वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यतामा बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार यो अभियान देशैभरी एकैसाथ संचालन गरिने उनले बताए । यो अभियान प्रत्येक महिनाको २ वटा शनिबार २–२ घण्टा देशैभरी निरन्तर संघले संचालन गर्दैछ ।

साउन मसान्त भित्र सबै प्रदेश, भाद्र १० गतेभित्र सबै जिल्ला र भाद्र मसान्तसम्म सबै स्थानीय तहसम्म पिपुल्स भोलेन्टियर (पिभि) गठन गर्ने निर्णय संघले गरेको महासचिव दिपक जिएमले बताए ।

यसैगरी मातहतका कमिटीहरुको भेला र बैठकहरु गर्ने निर्णय भएको छ । संघका उपमहासचिव एवं प्रवक्ता संजिव राईका अनुसार भदौ १ र २ गते प्रदेश २ को बैठक, प्रदेश १ को भदौ ३ र ४ गते, भदौ ९ र १० गते बागमती प्रदेश, ११ र १२ गते गण्डकी प्रदेश, १५ र १६ गते लुम्बिनी प्रदेश, १७ र १८ गते कर्णाली प्रदेश र १९ गते सुदूरपश्चिम प्रदेशको भेला एवं बैठकको आयोजना गर्ने निर्णय संघले गरेको छ । यस्तै भदौ २० र २१ गते केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ ।

पार्टीमा देखिएका समस्या र अन्तर संघर्षहरु मुलरुपमा अध्यक्ष केपी ओलीको ब्यवहार शैलीको कारण उत्पन्न भएको निष्कर्ष संघको रहेको छ । ओलीको कारण सिङ्गो कम्युनिष्ट आन्दोलन आज समस्याग्रस्त बन्दै गएको संघका अध्यक्ष शाहीले बताए । पार्टी भित्र देखिएका सम्पुर्ण समस्याहरुको वस्तुनिष्ठ छलफल गरी पार्टी भित्रको विवाद अबिलम्ब समाधान गर्न र उन्नत स्तरको एकता कायम गर्ने कुरामा संघले अपिल गरेको छ ।

समाजमा विकृति, विसंगति, अन्याय र विभेद व्याप्त छ । ढिलासुस्ती, भ्रष्टाचार, नातावाद, कृपावाद संस्कृतिको रुपमा स्थापित हुन् खोज्दैछ । जसले गर्दा सिङ्गो समाज दुषित बन्दैछ भने राजनीति र राजनीतिक कार्यकर्ता प्रति नकारात्मक धारणा विकास भइरहेको निष्कर्ष संघको छ ।

सोही कारण यसको विरुद्ध पिपुल्स भोलेन्टियर परिचालन गर्ने निर्णय संघले गरेको छ । शिक्षा, स्वास्थ्य, सुशासन, वातावरण, संरक्षण, उद्धार तथा राहातको कार्यमा युवा संघ नेपाल, पिपुल्स भोलेन्टियरको रुपमा परिचालन गर्ने निर्णय संघले गरेको छ ।

वैदेशिक रोजगारमा जान लागेका युवाहरुलाई सहज रुपमा खोपको ब्यवस्था गर्ने र खोप लगाई सकेका युवाहरुलाई प्रदान गरिने खोप कार्डको अंग्रेजी प्रमाणीकरणमा देखिएका ढिलासुस्ती प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सो खोप कार्ड प्रमाणीकरणमा सरकारी असपताललाई समेत अधिकार प्रदान गरी वैदेशिक रोजगारीमा जान लागेका युवाहरुको सहजीकरण गरि छिटो र प्रभावकारी रुपमा खोपको ब्यवस्था र खोप कार्ड प्रमाणीकरणको सहज ब्यवस्था गर्न नेपाल सरकार तथा सम्बन्धित निकायको संघले ध्यानाकर्षण गराएको छ ।

नेपालमा वसोवास गर्ने र खोप लगाउन योग्य सबै जनसमुदायहरुलाई छिटो भन्दा छिटो, सहज र सर्वसुलभ रुपमा खोपको ब्यवस्था गर्न समेत संघले सरकारसंग माग गरेको छ । यस्तै १२ अगस्तका दिन पर्ने अन्तर्राष्ट्रिय युवा दिवसलाई संघका तर्फवाट भब्य र प्रभावकारी ढंगले देशैभरि मनाउने निर्णय संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्