Logo
Logo

एकल पुरुषलाई भत्ता


दृष्टि संवाददाता

630
Shares

बझाङ । बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन् । स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका ५० वर्षभन्दा माथिका एकल पुरुषलाई मासिक रु ५०० देखि रु दुई हजारसम्म सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् ।

एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन । जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले २०७७ सालमा कार्यविधि बनाई नीति तथा कार्यक्रममा समावेश गरी भत्ता दिन सुरु गरेका छन् । दुर्गाथली र वित्थडचिर गाउँपालिकाले पनि कार्यविधि पारित गरेर यही आर्थिक वर्षको साउनदेखि एकल पुरुषलाई भत्ता दिने भएका छन् ।

श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई हटाउन एकल पुरुष भत्ताको व्यवस्था गरेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए । उनले भने, ‘सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, दलित समु्दायका मानिसलाई सामाजिक सुरक्षा भत्ता दिइएको छ । श्रीमतीको निधनपछि समाजमा एकल महिलाजस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले सामाजिक रुपमा भत्ता दिने व्यवस्था गरेका हौँ ।’

वित्थडचिर गाउँपालिका प्रवक्ता तथा वडानम्बर ६ का अध्यक्ष हर्क बोहराले एकल पुरुषलाई जीविकोपार्जन गर्न कठिन भएकाले गाउँपालिकाबाट भत्ताको व्यवस्था गरिएको बताए । उनले भने, ‘छोरा बुहारी काममा व्यस्त हुने र श्रीमतीको मृत्यु भएका पुरुषले अरुको तुलनामा एक्लोपन महसुस गर्ने भएकाले बुढेसकालको सहारा बन्न कार्यविधि बनाई प्रक्रिया अघि बढाएका हौँ ।’

चारवटै स्थानीय तहहरुले ५० वर्षभन्दा माथि ७० वर्ष नपुगेका एकल पुरुषलाई र ६० बर्ष नपुगेका दलित एकल पुरुषलाई मासिक रु ५०० देखि रु एक हजार ५०० सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् । जयपृथ्वी नगरपालिका प्रवक्ता सविता खड्काले आर्थिक अवस्था कमजोर भएर एकल पुरुषले सामान्य उपचार सेवासमेत पाउन नसकेको र बिहान–बेलुका छाक टार्नसमेत मुस्किल भएकाले त्यस्ता एकल पुरुषको सङ्ख्या पहिचान गरी सामाजिक सुरक्षा भत्ता दिन थालिएको बताए। –

प्रतिक्रिया दिनुहोस्