Logo
Logo

‘आरक्षण’ले पुर्‍याइदिएको डाक्टर सपना


दृष्टि संवाददाता

2.9k
Shares

काठमाडौं । प्रदेश २ को महोत्तरी गाउँपालिका–६ गोरिगमा गाउँका दाइ र बहीनी एकैपटक पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस)मा नाम निकालेर चर्चित बनेका छन् । आइओएमले लिएको प्रवेश परीक्षामा अभयकुमार र कृतिका पासवान पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

अभय र कृतिका महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सहस्राम माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका हुन् । अभयले २०७२ मा एसइई उत्तीर्ण गरेका हुन् भने कृतिकाले २०७४ मा। अभय र कृतिका दुवैजनाले काठमाडौंको गोल्डेन गेट कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् ।

अभयले २०७५ सालमा कक्षा १२ उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएको बुवा जितेन्द्रले बताए । कृतिका २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेडमा प्लस टु उत्तीर्ण गरेको उनले बताए। जीतेन्द्र पासवान र ममतादेवीका तीन छोराछोरीमध्ये अभय जेठो सन्तान हुन् भने कृतिका माइली । कान्छी छोरी नीतिका काठमाडौंकै निजी विद्यालयमा कक्षा ४ मा पढ्छिन् ।

प्लस टु उत्तीर्ण गरेपछि मेडिकल तयारीका लागि अभय नेम्समा एक वर्ष पढेका थिए । उनको नाम यसअघि पनि दलित कोटामा निस्केको थियो । बुवा जितेन्द्रले नागरिकसँग भने, ‘त्यो बेला बिन (मलाह) समुदायलाई पनि दलित कोटामा सूचीकृत गरिएकोले अभय पढ्न पाएनन् ।

पछि त्यो जातिलाई दलित कोटाबाट हटाइयो,’ उनले भने, ‘पहिला नै यो जातिलाई मधेसी दलित कोटामा सूचीकृत नगरिएको भए अभय एमबिबिएस पढिरहेका हुन्थे । हामीले कानुनी लडाइँ लड्न चाहेनौं,’ उनले भने, ‘आखिर उनीहरू पनि त कसैको सन्तान नै थिए । किन कसैको भविष्य बिगार्नु भनेर पछि हटैँ । एक वर्ष पर्खेर पनि छोराले आरक्षण कोटाको पहिलो नम्बरमा नाम निकालेका छन् । उनले राम्रो कलेज छान्न पाउँछन् । ढिलै भए पनि परिणाम सुखद् आएकोमा खुसी छु ।’

अभयले मेडिकल तयारी कक्षा पढे पनि कृतिका कहिल्यै तयारी कक्षा पढिनन् । उनी दाइ अभयबाटै पढेर पहिलो प्रयासमै नाम निकाल्न सफल भएको बुवा जितेन्द्र बताउँछन् । अभयले १४५ अंक ल्याएर मधेसी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थानमा नाम निकालेका छन् । कृतिकाले १२२ स्कोर ल्याएर मधेसी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थान सुरक्षित गरेको जितेन्द्रले बताए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्