Logo
Logo

कोल्टो फेर्दै गोलबजार नगरपालिका


दृष्टि संवाददाता

441
Shares

लहान । सिराहाको गोलबजार नगरपालिकाले छोटो समयमै विकास पूर्वाधारमा फड्को मारेको छ । बढ्दो अतिक्रमण र अव्यवस्थित बजारका कारण विगतमा कुरुप बन्दै गएका नगरक्षेत्रमा यतिबेला परिवर्तनको आभास हुन थालेको छ ।

नगरपालिकाले सडक पूर्वाधारको विकास, बिस्तारसँगै व्यवस्थित बजार निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएपछि नगरक्षेत्रको स्वरुप फेरिन लागेको हो । ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडकलाई कालोपत्र र ढलान गरी सडक पक्की बनाउने योजनालाई नगरपालिकाले प्राथमिकता दिएको छ ।

नगरपालिकाले गत आव ०७६/०७७ देखि सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको छ । सडक सञ्जाल निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टौँ लाग्ने नगरवासीको समस्यालाई दीर्घकालीन समाधानमा ध्यान दिएको छ । आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको गोलबजार नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।

हालसम्म नगरक्षेत्रका करिब २६ किलोमिटर सडकमा कालोपत्र र १४ किमी आरसिसी ढलान सकिएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपपालिकाको विभिन्न वडाका २०० किमी सडकमा ग्राभेल सकिएको छ । “चुनावका समयमा जनतासँग गरेको वाचाअनुरुप ग्रामीण क्षेत्रबाट बजारसम्म पुग्ने सडक कालोपत्र गर्ने कामलाई प्राथमिकता दिएका छौँ”, उनले भने ।

“नगरक्षेत्रका अधिकांश सडकलाई ढलान गरी पक्की बनाउने काम गरिरहेका छौँ ।” यसका साथै बजार क्षेत्र र बाक्लो बस्ती भएको ठाउँमा नाला निर्माणको कामलाई समेत प्राथमिकता दिएको उनको भनाइ छ । सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई समेत उच्च प्राथमिकतामा राखेर योजना अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जानकारी दिए ।

उनका अनुसार आव ०७७÷०७८ मा मात्र नगरपालिकाले छ किलोमिटर सडकमा नयाँ ट्रयाक खोलिएको छ । यसका साथै नगरक्षेत्रभित्रका प्रमुख पर्यटकीय क्षेत्र कुम्भी खाँडी तालको शिव गुफा निर्माणको कामलाई प्राथमकिता दिएको छ । विगतमा पुल नहुँदा शहरसम्म आउन जोखिम भोग्दै आएका वडा नम्बर १ मुक्सार र वडा नं १० अरमपुरमा झोलुङ्गे पुलसमेत निर्माण गरिएको उहाँले जानकारी दिए ।

विद्यालय सुधार गरी शैक्षिक गुणस्तरीयता ल्याउन नगरपालिकाका विभिन्न वडामा रहेका छ विद्यालयमा कक्षा कोठा निर्माणसँगै शैक्षिक गतिविधि बढाउन अन्य भौतिक पूर्वाधार उपलब्ध गराएको जनाएको छ । कूल १३ वडामा फैलिएको नगरपालिका ४७ हजार ७६३ जनसङ्ख्या छ । नगरपालिकाले जनघनत्व र आवश्यकताका आधारमा १३ वटै वडामा समानुपातिक बजेट उपलब्ध गराउँदै आएको छ ।

बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना गर्न नगरस्तरीय र वडास्तरीय बजेटबाट विभिन्न सिपमूलक तालिम वर्षेनी सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ । यसरी स्थानीय तहले सडक सञ्जाल बिस्तारसँगै सडक कालोपत्र तथा ढलानलगायतका ठोस योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि स्थानीयसमेत उत्साहित बनेका छन् ।

पछिल्लो एक वर्षदेखि कालोपत्र तथा ढलानलाई प्राथमिकता दिएकाले छिट्टै नगरक्षेत्रको विकासका गतिविधिले तीव्रता लिएको गोलबजार– ५ का श्रवण महतोले बताए । “बिगतमा सडकमा माटो र ग्राभेल हालेर बजेट सकिदै आएको थियो”, उनले भने,“ अहिले नगरपालिकाले सडकलाई कालोपत्र र ढलानलाई अघि बढाएकाले सडक हिलो र धुलोमुक्त हुँदै गएको छ ।” यसबाट वर्षेनी माटो र ग्राभेलका नाममा भ्रष्टाचार गर्ने गरेको आरोपबाट समेत जनप्रतिनिधि केही हदसम्म मुक्त हुने उनको कथन छ ।

प्रतिक्रिया दिनुहोस्