Logo
Logo

अलग पार्टी गठनका लागि माधव समूहको अन्तिम तयारी


दृष्टि संवाददाता

212.6k
Shares

काठमाडौं । एमाले आन्तरिक एकताका सम्पूर्ण प्रयास केपी शर्मा ओलीको हठ र दम्भले असम्भव भएपछि अन्ततः नेकपा (एमाले) औपचारिक विभाजनतर्फ अगाडि बढेको छ । माधवकुमार नेपाल पक्षले तत्कालका लागि विभिन्न बैठक, कमिटीका गठन–पुनर्गठन सहितका सम्पूर्ण गतिविधि रोक्न ओली पक्षलाई गरेको आग्रह अस्वीकार गरिएपछि एमाले विभाजनउन्मुख भएको हो ।

साउन २१ र २२ गते सम्पन्न माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीका कारण एकताको सम्भावना अन्त्य भएको ठहर गरेको थियो । उक्त बैठकले गरेको निर्णयअनुसार ‘पार्टी एकताको अनिवार्यतालाई हृदयंगम गर्दै तत्कालका लागि विभाजनको बाध्यात्मक नीति’ अबलम्बन गरिने भनिएको छ । बैठकका अधिकांश वक्ताले यथास्थितिमा हुने एकतालाई ‘एकता हैन, आत्मसमर्पण’ भन्ने धारणा प्रस्तुत गरेका थिए ।

केपीबिनाको एकता
बैठकमा केही वक्ताले एकताका निम्ति कार्यदलले तयार पारेको १० बुँदे सम्झौतालाई स्वयं माधव नेपालले स्वीकार गरे पनि आफूहरु विद्रोहका निम्ति तयार रहेको चेतावनी दिएका थिए । ओलीबिनाको एमाले भएमात्रै एकतामा जानेसम्मका कुराहरु उठेका थिए । बैठकमा पोलिट्व्युरो सदस्य राजेन्द्र पाण्डेले ओलीसहितको एमालेमा कुनै हालतमा जान नसकिने धारणा राखे । उनले भने, ‘बरु, म धादिङमा प्रगतिशील मञ्च बनाएर चुनावमा लड्छु, तर ओलीको नेतृत्वमा एमाले हुन्नँ ।’ पाण्डेले यसो भनेपछि बैठकमा एकछिनसम्म तालीको फोहोरा छुटेको थियो ।

राजेन्द्र पाण्डेपछि बैठकमा माहौल तताउने काम मेटमणि चौधरीले गरे । उनले भने, ‘मानाँै कि, माधव कमरेडलाई १० बुँदे उचित लाग्यो, उहाँलाई ओलीप्रति विश्वास पनि जाग्यो र एकतामा जानुभयो । त्यस्तो अवस्थामा हामी माधव कमरेड भनेर पछि लाग्दैनौँ, तपाईंसँगै पनि हामी विद्रोह गर्छौं ।’ उनले भने, ‘वार्ता गर्न गएका कमरेडहरु हाम्रो प्रतिनिधि हो कि ओलीको प्रतिनिधि हो ? स्पष्ट पार्नुपर्यो । माधव कमरेडको प्रतिनिधि हो भने, किन उहाँहरु घुमाई–फिराई हामीलाई ओलीको टाङमुनि छिराउन खोज्दै हुनुहुन्छ ?’

मेटमणिको भनाइलाई समर्थन गर्दै केन्द्रीय सदस्यहरु हिराचन्द्र केसी, रामकुमारी झाँक्री, निरा जैरुसहितले यही लयमा आ–आफ्नो कुरा राखेका थिए । बैठकमा कार्यदलको प्रगतिबारे ब्रिफिङ गर्न रोष्ट्रममा पुगेका उपाध्यक्ष भीम रावलको भूमिका र अभिव्यक्तिलाई लिएर आपत्ति जनाइएको थियो ।

कार्यदलप्रति आक्रोश
उपमहासचिव घनश्याम भुषालले पार्टी एकताका अधिकतम् प्रयासहरु जारी रहेको बताइरहँदा केन्द्रीय सदस्यहरु अगाडिबाट कराउन थाले । तर, उनले एकता र विभाजनमा एक नम्बर एकता, त्यो सम्भव नभएपछि विभाजन भनेपछि हल शान्त भएको थियो । यसपछि दिपकप्रकाश भट्टसहितका केन्द्रीय सदस्यहरुले बोले ।

उनीहरुको भनाइ थियो, ‘हामी जसरी पनि विभाजित हुनुपर्छ भन्दैनौँ, भनेका पनि छैनौँ । तर, त्यो ठाउँमा हामीलाई कमरेड ओलीले पुर्याउँदै हुनुहुन्छ । हामी चाहना राखौँ कि, विभाजनमा जान नपरोस्, जानु परेछ भने पनि पछि हट्नु नपरोस् ।’ केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुद्वारा उठाइएका भनाइहरुको संश्लेषण गर्दै २२ गते बेलुकी सम्पन्न स्थायी कमिटी बैठकले ओली पक्षद्वारा जारी राखिएका गठन–पुनर्गठन, बैठक, भेला र सदस्यता नवीकरणका काम तत्काल रोक्न आग्रह गर्ने निर्णय गरेको थियो । २४ गते बोलाइएको अ‍ोलीपक्षीय बैठक स्थगित गर्न पनि उक्त बैठकले आग्रह गरेको थियो । तर, २४ गतेको बैठकले २५ गते सारेर माधव पक्षको सम्पूर्ण आग्रह ओलीपक्षले अस्वीकार गरेको छ ।

चेपुवामा माधव
२१ गते शुरु भएको केन्द्रीय कमिटी बैठकअघि त्यही विहान बसेको माधवपक्षीय स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाललाई कार्यदलका सदस्यहरुले १० बुँदे अनुमोदन गरेर एकतालाई सहज बनाउन आग्रह गरेका थिए । तर, माधवले अस्वीकार गरे । उक्त बैठकमा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्यसहितका नेताले माधवलाई अप्ठेरोमा पार्न खोजेका थिए । तर, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, बेदुराम भुषाल र रघु पन्तले १० बुँदेको समीक्षा गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिनुपर्ने भनी माधवको बचाउ गरे ।
त्यसपछि शुरु भएको केन्द्रीय कमिटी बैठकमा कार्यदल सदस्यप्रति केन्द्रीय सदस्यहरुले तीव्र आक्रोश व्यक्त गरेका थिए । सो बैठकमा केन्द्रीय सदस्यहरुको आक्रोशलाई थामथुम पार्ने क्रममा माधव नेपालले अरु दिनभन्दा उच्च मनोबलका साथ आफ्नो भनाइ राखे ।
उनको भनाइ थियो, ‘कतिपय कमरेडहरु हामी किन यो ठाउँमा पुग्यौँ भन्ने कुरा बिर्सिंदै हुनुहुन्छ । परिस्थिति के हो ? यो परिस्थिति कसले सिर्जना गरेको हो ? कुन पृष्ठभूमिबाट हामी आज यहाँसम्म आइपुगेका छौँ ?

अहिलेकै अवस्थामा एकतामा जाँदा के हुन्छ ? कतिपय कमरेडहरु यस्ता कुरा सोच्दै नसोची एकता–एकता भन्ने रटानमा लगाउँदै हुनुहुन्छ ।’ यसरी माधवले आफ्नो कुरा राख्न थालेपछि शान्त बनेको बैठकको हललाई माधवको निर्देशन थियो, ‘हाम्रो कारणले एकता नहुने, एकता भाँडिने परिस्थिति बनाउने होइन । हामीले केपीजी र उनका मान्छेहरुको मानमर्दन गर्ने, होच्याउने काम पनि गर्ने होइन । तर, एकता भनेर टाङमुनि छिर्न जाने काम हामी कदापि गर्ने छैनौँ ।

संयुक्त हस्ताक्षरसहितको एकता भनेका छौँ । त्यो भनेको भोलि एकतामा जाँदा आज हामीसँग रहनुभएका सबै कमरेडहरुको पार्टीमा सम्मानजनक उपस्थिति होस् भनेर अगाडि सारिएको कुरा हो । यदि यी कुरा उहाँहरु मान्न तयार हुनुहुन्न भने अपमानित हुने, फेरि पनि विद्रोह नै गर्नुपर्ने एकतामा हामी किन जाने ? जाँदैनौँ हामी ।’

गतिविधिलाई तीव्रता
माधवपक्षीय स्थायी कमिटी बैठकले २२ गते गरेको आग्रहबमोजिम ओलीपक्षले २४ गतेको बैठक स्थगित गरे पनि २५ गते उक्त बैठक बोलाइयो । देशका विभिन्न जिल्ला र नगर कमिटीहरुको पुनर्गठन गरिएको छ । सदस्यता नवीकरण र लेवी संकलनको काम जारी राखिएको छ ।
ओली पक्षले गतिविधि जारी राखेको स्थितिमा माधव पक्षका गतिविधिलाई पनि तीव्रता दिइने भएको छ ।

उक्त समूहले गठन गर्न बाँकी रहेका जनसंगठनका विभिन्न कमिटी, पार्टीका जिल्ला, नगरसम्मका संरचनालाई अगाडि बढाउने निर्देशन दिइसकेको छ । सोमबार वरिष्ठ नेता माधव नेपालका अभिभावक (दाजु) दिव्यकुमार उपाध्यायको निधनभएपछि उनी पशुपति आर्यघाट पुग्नुपर्ने कारण देशव्यापी निर्देशन दिन ढिला भएको स्रोतले जनाएको छ । ‘तर, सम्बन्धित कमिटीका इञ्चार्जहरुले आ–आफ्ना निकायमा गतिविधिलाई अगाडि बढाउने खबर दिइसक्नुभएको छ’, स्रोतले बतायो ।

अन्तिम तयारी
माधव नेपाल समूहले अलग पार्टी गठन गर्नुपर्ने स्थितिमा प्रस्तुत गर्नुपर्ने केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको नामलाई अन्तिम रुप दिने काम सकिएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र सातवटै प्रदेश सभाका सांसदहरुको सूची पनि तयार भइसकेको छ । त्यससँगै पार्टीका दस्तावेजहरुको लेखनकार्य पनि अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।
कतिपय सांसद र नेता निर्णायक अवस्थामा ओलीसमूह परित्याग गर्न तयार भएको खबर आएका कारण उक्त समूह छाड्न तयार हुनेहरुलाई खबर गर्ने काम भइरहेको र हस्ताक्षर गर्न बोलाइएको स्रोतले बताएको छ ।

अलमलको अन्त्य
माधव समूहमा ‘एकता पक्षधर’ का नाममा अलमलमा रहेका केही शीर्ष नेताहरुले आफूहरु उक्त समूहबाट अलग नहुने धारणा माधव नेपालसमक्ष राखिसकेका छन् । उपाध्यक्ष भीम रावल, सचिवहरु योगेश भट्टराई र भीम आचार्यले चाहिँ अहिलेसम्म स्पष्ट पारेका छैनन् । अब माधव समूहले समयसीमा तोकेर नेताहरुलाई स्पष्ट हुने मौका दिने भएको छ । त्यसक्रममा पार्टी केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, नगर र वडासम्म नै नेता–कार्यकर्ताहरुलाई स्पष्ट भएर अगाडि बढ्न निर्देशन दिइने भएको छ ।

ओली पक्षले पार्टी सदस्यता नवीकरण, लेवी र सदस्यता शुल्क संकलन गर्न थालेपछि माधव समूहले आफ्नो पक्षका पार्टी सदस्यलाई त्यसमा सामेल नहुन भनेको छ । ती सदस्यहरुको सम्पूर्ण शुल्क अहिले माधव समूहले नै संकलन गर्ने नीति लिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्