Logo
Logo

प्रेसपासमा झमेला


दृष्टि संवाददाता

9k
Shares

काठमाडौं । पत्रकार र सूचना विभागबीच खासै सम्बन्ध छैन । वर्षको एकपटक प्रेस पास नवीकरण र अनलाइन पत्रिका दर्ता गर्नेबाहेक अरु बेला पत्रकारहरुले सूचना विभागलाई सम्झने गर्दैनन् । अहिले पत्रकारहरुको प्रेस पास नवीकरण गर्ने बेला हो । प्रेस पास नगीकरण गर्न साउन महिनाभरि देशभरिका पत्रकारहरुको सूचना विभागमा भीड लाग्ने गर्छ ।

प्रेस पास नवीकरण गर्न दुर्गमपहाडी जिल्लाबाट जहाज चढेर काठमाडौं आउनुपर्ने बाध्यता छ । कम्तीमा एउटा प्रेस पास नवीकरण गर्न दश÷पन्ध्र हजार खर्च हुन्छ । स्थानीय निकायमै प्रेस पास नवीकरण गरेर हुलाकको माध्यमबाट डेलिभरी दिन सकियो भने पत्रकारहरुको कल्याण हुने थियो ।

तर, दुर्भाग्य त्यतातिर सूचना विभागको ध्यान पुग्न सकेको छैन । बरु, नयाँ नयाँ महानिर्देशक सरुवा भएर आएपछि पत्रकारलाई कसरी दुःख दिने भन्ने अनेकथरि निर्देशन जारी हुन्छ । जसका कारण पत्रकारहरुले हैरानी खेप्नुपरेको छ ।

गत वर्ष किरण शर्मा विभागका निर्देशक थिए । उनले प्रेस पास नवीकरण गर्न जिल्ला प्रशासन कार्यालयमा पत्रिका दर्ता भएको प्रमाणपत्र नबुझाएसम्म प्रेस पास नवीकरण नगर्ने भनेर दुःख दिए । बाहिर जिल्लाबाट काठमाडौंसम्म आएका पत्रकारहरु प्रमाणपत्र लिन फर्किएर जिल्ला पुगे ।

अहिले महानिर्देशक फेरिएका छन् । गोगन हमाल आएका छन् । उनले पनि शर्माको पथ पछ्याउँदै ‘अनलाइन’बाट नवीकरणको फारम भर्नुपर्ने र नागरिकता लगायतका प्रमाण पेश गर्नुपर्ने नीति ल्याएका छन् । वर्षौँदेखि प्रेस पास जारी भएको अभिलेख विभागको कम्प्युटरमा छ । त्यही अभिलेखको आधारमा प्रेस पास नवीकरण गर्नुपर्ने हो । थप कागजात पेश गर्नुपर्ने कुनै कारण छैन । तर, पत्रकारलाई दुःख दिन नयाँ महानिर्देशक हमालले पनि नयाँ फण्डा निकालेका छन् । साउन महिनाभरि नवीकरणको काम हुने भएकोले असार मसान्तसम्म लेखिएको उक्त प्रेसपासले साउनसम्म काम गर्छ । तर, महानिर्देशक हमाल आएपछि ‘प्रेसपास’ सिंहदरबारमा अस्वीकृत गरिएको छ । कतिपय पत्रकारले सिंहदरबारको गेटबाट फर्कनुपर्ने गुनासो सामाजिक सञ्जालमा गरेका छन् । यसतर्फ पत्रकार महासंघको ध्यान जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्