काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थनमा केसीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् ।
तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनी विद्यार्थी जिवनकालदेखि नै राजनीतिमा लागेका थिए । केसी २०४३ सालमा नेकपा मसालको विद्यार्थी संगठनमा आवद्ध भएका थिए ।
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दापढ्दै विद्यार्थी संगठनमा आवद्ध भई उनले सक्रिय राजनीति गर्न थाले । विद्यार्थी राजनीति सुरु गरेको चार वर्षपछि २०४७ सालमा पार्टी सदस्यता पाए ।
उनी ०४८ देखि २०५० सम्म शिक्षण पेशामा समेत आवद्ध भए । २०५० मा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई ‘कालो झण्डा’ देखाउँदा जागिरबाट निकालिए ।
२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भुमिगत भई माओवादीमा सक्रिय भए । २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरी बने । २०५६ साल भेरी-कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भए । केही समय भारतमा जेल जीवन बिताएका उनी २०६३ साउन २५ गते भारतीय जेलबाट रिहा भए ।
२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे । त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बने ।
२०७३ मा प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।
तत्कालीन नेकपामा केन्द्रीय सदस्य भएका केसी कानून मन्त्रीकै जिम्मेवारी सम्हालेर दलको उपनेता थिए। एमाले(माओवादी एकता भत्किएपछि आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएर उनी मुख्यमन्त्रीको दौडमा लागेका हुन् ।