काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताएकी छन् ।
‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्नुहुँदै मुलुकको सकारात्मक परिवर्तनका लागि नेपाली युवालाई सिर्जनात्मक सोचसहित प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेकी छन् ।
युवा शक्ति देशको शक्ति हो भन्नुहुँदै उहाँले युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र समाजिक प्रणाली नै अवरुद्ध हुने उल्लेख गर्नुहुँदै युवाको ठूलो पङ्क्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुन पुग्ने बताइन् ।
‘युवाहरु रोजगारीका लागि विदेशिँदा हाम्रा कतिपय सामाजिक सांस्कृतिक मूल्य मान्यतामा विचलन आएको छ । यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ’, उनले भनिन् ‘सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुन जान्छ ।’
राष्ट्रपति भण्डारीले कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्नुहुँदै युवालाई सीपयुक्त गुुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको बताइन्।
कोभिड–१९ महामारीले अर्को चुनौती थपिएको बताउँदै उहाँले सङ्क्रमणकै कारण कृषि प्रणालीमा प्रतिकूलता र खाद्यान्न उत्पादन, वितरण र उपभोगमा समेत समस्या पैदा भएको उललेख गरिन् ।