Logo
Logo

अफगानिस्तानको दोस्रो ठूलो शहर कब्जा गरेको तालिबानको दाबी


315
Shares

काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको छ । तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो पनि सार्वजनिक भएको छ ।

तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका हुन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ ।

तालिबानले अब राजधानी काबुल पनि कब्जा गर्न सक्ने विश्लेषण गर्न थालिएको छ । अफगानिस्तानमा २० वर्षदेखि रहँदै आएका अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता भएलगत्तै तालिबान समूहले एकपछि अर्को शहरमाथि कब्जा जमाउँदै गएका छन् ।

तालिबानले एक हप्ताको बीचमा ३४ प्रान्तीय राजधानीमध्ये ११ मा आफ्नो नियन्त्रण स्थापित गरिसकेको छ । हालैमात्र तालिबानले महत्वपूर्ण शहरहरु गजनी र हेरातलाई नियन्त्रणमा लिएको थियो । गजनीबाट राजधानी काबुल १५० किलोमिटर मात्रै टाढा पर्दछ ।

तालिबान समूहले अब राजधानी काबुलमा आक्रमण गर्न सक्ने अनुमान गरिएको छ । अमेरिकी सेनाले पनि तालिबानले ३० देखि ९० दिनको अन्तरमा राजधानी काबुल कब्जा गर्न सक्ने आशंका गरेको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले अमेरिकाले आफ्ना नागरिक फिर्ता ल्याउन ३ हजार सैनिक अफगानिस्तान पठाउने तयारी गरेको उल्लेख गरेको छ । पेन्टागनका प्रेस सचिव जोन किबीृले अमेरिकी रक्षा विभागले काबुलस्थित दूतावासबाट आफ्ना कर्मचारीलाई सुरक्षित निकाल्न सेना पठाउन लागेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्