Logo
Logo

संसद्‌मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?


6k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ । आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनसमेत दिइँदै आएको छ ।

कतिपय असंसदीय शब्द बारम्बार प्रयोग हुँदा ‘हामी पनि किन नबोल्ने ?’ भन्ने खालको स्थिति पनि निम्तिन थालेको छ । प्रतिनिधिसभाको दोस्रोपटक पुनःस्थापना भएपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबाट असंसदीय अभिव्यक्ति बढ्दै गएको भनी सांसदहरूबाटै आपत्ति जनाउन पनि थालिएको छ ।

बिहीबारको बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले निवर्तमान प्रधानमन्त्री केपी ओली र एमाले सांसदहरूप्रति लक्षित गरेको अभिव्यक्ति विवादमा पर्‍यो । उनले ‘निवर्तमान प्रधानमन्त्री केपी ओली फिजिकल्ली र मेन्टल्ली ठीक हुनुहन्न, उहाँले परमादेशबाट बनेको सरकार बारम्बार भने पनि सांसदहरूले आफैंलाई अपमान हुनेगरी किन परमादेश भनेको  ?’ भन्दै संसद्मा आक्रोश पोखेका थिए ।

उनको बुझाइमा ‘परमादेशबाट बनेको सरकार’ बारम्बार प्रयोग हुँदा असंसदीय भएको छ । त्यसकारण आक्रामक भएर प्रस्तुत हुँदा उनलाई नै ‘असंसदीय अभिव्यक्ति’ दिएको आरोप लाग्यो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्तिलाई असंसदीय भन्दै नियमापत्ति गरे र रेकर्डबाट हटाउन माग गरे । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले केही समय सभाको अध्यक्षता गर्न मनोनीत सांसद घनश्याम खतिवडालाई दिएका थिए ।

खतिवडाले यस विषयमा ध्यानाकर्षण भएको बताएपछि बैठक अघि बढ्यो । तर शुक्रबारको बैठकमा एमाले सांसदहरूले बिहीबारको बैठकमा सभामुखले ध्यानाकर्षण भएको भनेर मात्र नपुग्ने, रेकर्डबाटै हटाउनुपर्ने, अन्यथा बैठक अघि बढ्न नदिने चेतावनी दिए। त्यसपछि यादवको ‘निवर्तमान प्रधानमन्त्री ओली फिजिकल्ली र मेन्टल्ली ठीक नभएको’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख सापकोटाले संसद् सचिवालयलाई निर्देशन गरे ।

एउटा सांसदले अर्को सांसदलाई जभाभाबी ‘निम्छरा’ शब्द प्रयोग गर्न थाल्ने हो भने सदनको गरिमा नरहने भनाइ एमाले प्रमुख भट्टराईले राखेका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्