Logo
Logo

अझै एक साता पानी पर्ने


819
Shares

काठमाडौं । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । ‘वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।’ उनले भने ।

देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आइतबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३२ दशमलव २ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्