Logo
Logo
कांग्रेसको विधान संशोधन प्रस्ताव

वडा सभापति र क्षेत्रीय प्रतिनिधिमात्रै मतदाता


1.7k
Shares



काठमाडौं । नेपाली कांग्रेसले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरूमात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने पाउने निर्णय गरेको छ । कांग्रेसले पार्टी विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । सोअनुसार कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति क्रियाशील सदस्य चुन्ने पाउने छैन ।

पार्टीको १४औँ महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत गरिएको छ ।

सभापतिबाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि बन्न पाउनेछन् । तर, यसका लागि मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुनुपर्नेछ ।

पार्टी विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेखित क्रमशः ‘गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ केन्द्रीय समितिबाट निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यो संशोधनलाई महाधिवेशनबाट अनुमोदन गर्ने तयारी गरिएको छ ।

यस्तै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा विधान र नियमावलीमा भएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ । त्यसैले अब वडा सभापति र क्षेत्रीय प्रतिनिधिले अपांगता भएका व्यक्तिको प्रतिनिधित्वबारे निर्णय गर्न सक्नेछन् । कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको नयाँ कार्यकालिका तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्