काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकार २९९ सदस्यीय रहने गरी अन्तरिम विधान प्रस्ताव गरिएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव पदाधिकारी रहने छन् ।
पार्टीको जारी केन्द्रीय समितिमा प्रस्तुत गरिएको सो अन्तरिम विधानमा केन्द्रीय समितिको बढीमा एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि प्रस्ताव गरिएको छ ।
सामान्यतया केन्द्रीय समितिको बैठक छ महिना, पोलिट ब्युरोको बैठक चार महिना, स्थायी समितिको बैठक एक महिनामा बस्ने प्रस्तुत विधानमा छ ।
राष्ट्रिय महाधिवेशन पाँच वर्षमा गरिनेछ। विशेष परिस्थितिमा केन्द्रीय समितिले यसको स्पष्टीकरणसहित बढीमा छ महिनासम्म महाधिवेशनको समय सार्न सक्नेछ। तर, नेकपा कायम रहेको २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्मको समयलाई गणना गरिने छैन।
राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि संगठित सदस्य भइ कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ। तर, गरिबीको रेखामुनि रहेका वर्ग, महिला, दलित, सीमान्तकृत, जनजाति, मुस्लिम र अपांगता भएका व्यक्तिहरुको हकमा सो अवधि तीन वर्षको मात्रै भए पुग्नेछ।