Logo
Logo

भ्रष्टाचारले थलिँदै स्थानीय तह


252
Shares

काठमाडौं । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीस्थित कच्ची सडकको हिलाम्मे माटोमा रड ओछ्याएर ढलान भयो । सो ढलान बदर गर्नुको साटो पालिकाका इन्जिनियर राधेश्याम यादवले सदर गरिदिए ।

प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो र लेखापाल रामप्रसाद यादवले ठेकेदारलाई सम्झौताअनुसारकै रकम भुक्तानीको चेक हस्तान्तरण गरिदिए ।

सडकमा पक्की ढलानका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ गते भ्याटबाहेक ३४ लाख १७ हजार रुपैयाँमा सम्झौता गरेको थियो । ठेकेदारले हिलाम्मे सडकमा पक्की ढलान गरिरहँदा पनि चुप बस्नु र सम्झौताअनुसारको रकम भुक्तानी दिनुले कार्यालय प्रमुख, प्राविधिक शाखा प्रमुख, योजना शाखा प्रमुख, लेखा शाखा प्रमुखबीच सेटिङ भएको देखिएको स्थानीय सञ्जय यादवले बताए ।

‘सेटिङमा अनियमितता भएको होइन भने गाउँपालिकाले हिलोमा पक्की ढलान गर्न किन दियो,’ यादवले भने, ‘सम्झौताविपरीत काम गर्दा पनि भुक्तानी दिनुले मिलेमतोमा अनियमितता भएको प्रस्ट हुन्छ।’

गाउँपालिकामा कर्मचारी र प्रमुखबीचको सेटिङमा अनियमितता भएको फेहरिस्त नै रहेको यादवले बताए । ‘विपद्, विकास, शिक्षा, स्वास्थ्य सबैमा अनियमिताको चाङ छ तर छानबिन र कारबाही गर्ने निकायको अत्तोपत्तो छैन,’ उनले भने। गाउँपालिकामा अनियमितता गर्ने र ढाकछोप गर्नेको जालो छ । नियम र कानुनी प्रावधानको धज्जी उडाउँदै भएको र भइरहेको अनियमितताउपर इमानदार छानबिन भए वास्तविकता छताछुल्ल हुने यादवको भनाइ छ ।

पालिकामा सेटिङमा अटाउने करारका कर्मचारीलाई कानुनी प्रावधान मिचेर जिम्मेवारीमाथि जिम्मेवारी थपिएको पाइन्छ । सेटिङमा नअटाउने निजामती सेवाका स्थायी कर्मचारीलाई समेत जिम्मेवारीविहीन बनाइएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्