Logo
Logo

कोरोना जोखिम : शहरमा सावधानी, गाउँमा बेवास्ता


441
Shares

महेन्द्रनगर । मुलुकमा कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जोखिम रहेका बेला कञ्चनपुरका शहरी क्षेत्रमा स्वास्थ्य सुरक्षा सर्तकता अपनाएको देखिए पनि ग्रामीण बस्तीमा भने त्यसको कुनै वास्ता छैन ।

यहाँको महेन्द्रनगर बजार, झलारी, दैजीलगायत राजमार्ग छेउछाउका बजारमा मास्कलगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरिएको देखिए पनि अन्यत्र भने सर्वसाधारण सामान्य अवस्था झैं हिँड्डुल गरिरहेको पाइएको छ । पश्चिमी नाका गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकासँग जोडिएको कञ्चनपुर जिल्ला कोरोना जोखिम विश्लेषणमा ‘थ्रेट जोन’ मा पर्छ ।

स्थानीय प्रशासन र केही दातृ निकायले महेन्द्रनगर बजार र केही स्थानमा कोरोना जोखिम नियन्त्रणबारे मास्क र मास्क नलगाउनेलाई जरिवानालगायत अभियान सञ्चालन गरेपनि ग्रामीण बस्तीमा भने त्यसको कुनै प्रभाव परेको छैन ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा कोरोना सङ्क्रमणबाट १८८ जनाको मृत्यु भइसकेको छ । अझै दिनहुँ जसो कोरोना सङ्क्रमण थपिने र सङ्क्रमण जित्ने प्रक्रिया जारी रहेको कार्यालयले जनाएको छ ।

हालसम्म कञ्चनपुरमा १० प्रतिशत नागरिकले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–९ का जीतेन्द्र चौधरीले कोरोना जोखिम अझै कायम रहेपनि बस्तीमा भने सचेतना फैलाउने र सावधानी अपनाउने विषयमा कुनै चासो नरहेको बताए ।

‘गाउँमा त एकआध जनाले मात्रै मास्क लगाएको देखिएपनि अरु निर्वाध रुपमा घुमफिर गरिरहेका हुन्छन्’, उनले भने, ‘कोरोनाले त शहर र गाउँ भन्दैन् होला नी ।’ उनले कोरोना नियन्त्रणका लागि सचेतना फैलाउने अभियानमा स्थानीय पालिकाले पहल गर्नुपर्नेमा जोड दिए ।

यहाँ सरकारी कार्यालय र बजार क्षेत्रमा हिँड्डुलका बेला मात्रै मास्क लगाउने प्रचलन रहेको देखिन्छ । ‘सङ्क्रमण बढेपछि अक्सिजन, राम्रो अस्पताल खोजेर मात्रै हुँदैन’, चौधरीले भने, ‘यसलाई नियन्त्रण गर्न गाउँगाउँमा मास्क वितरण अभियान सञ्चालन गर्नु आवश्यक छ ।’ स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि भन्दै हरेक दिन बेलुकी ६ बजेपछि महेन्द्रनगर बजार बन्द गराउने गरेको छ ।

प्रहरीले यहाँका गल्लीहरुमा मास्क नलगाउने व्यक्तिलाई जरिवाना गराइरहेको छ । महेन्द्रनगरस्थित हेल्प नेपालका अध्यक्ष मदन चन्दले मास्क अभियान सकरात्मक भए पनि उनले खोप अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

‘बेलुकी ६ बजेपछि पनि यहाँ होटल, रक्सी पसल भरिभराउ हुन्छन्’, उनले भने, ‘यहाँका पर्यटकीय क्षेत्रमा भीडभाड हुँदा पनि स्थानीय प्रशासन मौन भएर बसेका छन् ।’ उनले सचेतनाका कार्यक्रम ग्रामीण बस्तीसम्म सञ्चालन गर्नुपर्ने बताए ।

त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले कोभिशिल्डको दोस्रो मात्रा लगाउने काम भएको बताए । ‘भदौको दोस्रो साताबाट भेरोसेल लगाउने तयारी छ’, उनले भने, ‘खोप अभियान स्थानीय तहसँग समन्वय गरेर अघि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्