Logo
Logo

ओली नसुध्रिए माधव समूहले फुटको प्रक्रिया थाल्ने


2.3k
Shares

काठमाडौं । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णयले प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र तरंग पैदा भएको छ ।

अध्यादेशलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ । अध्यक्ष ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयलाई निकृष्टताको संज्ञा दिएका छन् । अध्यादेश तत्काल रद्द गर्न उनको माग छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने अध्यादेशअनुसार नयाँ पार्टी बनाउन जुटेको छ । वरिष्ठ नेता नेपालले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

अध्यक्ष ओलीले मंगलबारसम्म विगतका निर्णय नसच्याए फुटको औपचारिक प्रक्रिया सुरु हुने नेपाल समूहले प्रष्ट पारेकाे छ । माधव समूहको सांसदको बैठकले आज रातिसम्म ओलीले गरेको एकलौटी निर्णय फिर्ता नलिए औपचारिक प्रक्रिया सुरु हुने निष्कर्ष निकालेको छ ।

माधव समूहका २२ जना सांसदको बैठकपछि सांसद विरोध खतिवडाले भने, ‘ओलीपक्षले एकलौटी रुपमा गरेको निर्णय आज रातिसम्म फिर्ता लिएर सुध्रिए भने एकता हुन्छ । उनी जहाँ छन्, त्यहीँ रहे भने आवश्यक फुटको औपचारिक प्रक्रिया सुरु हुन्छ ।’

नेकपा एमालेमा २०३ सदस्यीय केन्द्रीय कमिटी छ । ओली पक्षले आजै निर्वाचन आयोगमा दुई सय ६० सदस्यीय केन्द्रीय कमिटी हुने गरी विवरण अद्यावधिक गर्न निवेदन दिएको छ ।

उक्त कदमले ओलीले थप बेइमानी गरिरहेको माधव समूहको ठहर छ । खतिवडा भन्छन्, ‘निर्वाचन आयोगमा २०३ केन्द्रीय सदस्यबाट २६० जनाको अद्यावधिक सूची बुझाएर जालेझेल गर्दैछन्, हामी पुरानैबाट ब्याक हुनुपर्छ भनिरहेको छौँ । उहाँहरु थप बेइमानी गर्दै हुनुहुन्छ ।’

अहिले अध्यादेश ल्याउनु स्वाभाविक रहेको उनले बताए । पहिले ओलीले जबर्जस्ती फुटाउन खोजेको तर अहिले दलहरुमा विभाजन जरुरी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्