काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त बाटोबाटै भागेको घटनामा लापबारही गरेको आरोपमा चार प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाका सइसहितका प्रहरी निलम्बनमा परेका हुन् ।
कोरोना परीक्षणका लागि अस्पताल लगेर ल्याउने क्रममा जबर्जस्ती करणी मुद्दाका अभियुक्त विनोद परियार शुक्रबार दिउँसो प्रहरीको गाडीबाट हाम फालेर भागेका थिए । उनलाई अस्पताल लगेर ल्याउने जिम्मा पाएका एक नायब निरीक्षक, एक हवल्दार र दुई जवान निलम्बनमा परेका हुन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई पिसिआर परीक्षणका लागि वीर अस्पताल लगेको थियो । अस्पतालबाट फर्कने क्रममा न्युरोडमा उनी भागेका हुन् । हत्डकी लगाएको भए पनि सहजै हत्कडी निकालेर उनी भागेको प्रहरीले जनाएको छ । घटनाको छानबिनका लागि काठमाडौं परिसरले छानबिन टोली बनाएको छ । घटनाको पाँच दिन हुँदा पनि अभियुक्त भेटिएका छैनन् । यो घटनामा वृत्तका डिएसपीलाई समेत कारबाही हुने सम्भावना छ । अभियुक्त सहजै भागेकाले यसमा मिलेमतोको समेत आशंका गरिएको छ ।