काठमाडौं । विभिन्न मुलुक र संस्थाबाट अनुदानमा प्राप्त एन्टिजेन किट प्रयोग नगरी खेर जाने अवस्था आएको छ । पीसीआर टेस्टभन्दा छिटो र आरडीटीभन्दा विश्वसनीय हुने एन्टिजेन टेस्टमा सरकार उदासीन छ ।
कतिपय जिल्लामा पीसीआरको रिपोर्ट आउन एक सातासम्म लाग्छ, एन्टिजेन रिपोर्ट आधा घण्टामै आउँछ, जसका लागि प्रयोगशालासमेत आवश्यक पर्दैन । तर, किट प्रयोग नहुँदा एकातिर कोभिड पहिचान तथा नियन्त्रणमा ढिलाइ भएको छ भने अर्कोतिर विदेशी अनुदान खेर जाँदै छ ।
नेपालले अनुदान सहयोगअन्तर्गत मास्कपछि सबैभन्दा बढी एन्टिजेन किट पाएको थियो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाको तथ्यांकअनुसार दोस्रो लहरयता मात्र अनुदान सहयोगअन्तर्गत २० लाखभन्दा बढी एन्टिजेन किट भित्रिएको छ । सबैभन्दा बढी स्विट्जरल्यान्ड सरकारले ११ लाख दिएको थियो । अमेरिकाले ५ लाख, स्पेनले १ लाख २४ हजार, निक साइमन्स फाउन्डेसनले १ लाख दिएका थिए ।
त्यस्तै एफएचआई–३६० बाट ६५ हजार, सेभ द चिल्ड्रेनबाट ५० हजार, युनिसेफबाट २८ हजार, थाइल्यान्डबाट २० हजार, फ्रान्सबाट २० हजार किट प्राप्त भएको थियो । स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारलाई करिब २० लाख किट पठाएको छ । तर, सरकारले शनिबारसम्म ४ लाख २९ हजार ४ सय ८२ नमुनाको मात्र एन्टिजेन परीक्षण गरेको छ ।
स्थानीय तहमा पुगेका किट हालसम्म प्रयोग भएरनभएको बारे अद्यावधिक जानकारी स्वास्थ्य मन्त्रालयसँग छैन । ‘स्थानीय तहमा पठाइएका किटबाट परीक्षण गरियो वा त्यसै थन्किएर बसेको छ भनेर कुनै रिपोर्ट आएको छैन,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले उहाँहरू (स्थानीय सरकार) लाई किटबारे रिपोर्ट पठाउन बाध्य पार्न सक्दैनौं ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।